-डा. निकेश राजभण्डारी
मानसिक रोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी, काठमाडौं
प्रत्येक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन र विश्व मानसिक स्वास्थ्य महासंघको सहकार्यमा सन् १९९२ देखि यो दिवस मनाउन थालिएको हो। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, मानसिक रोगसम्बन्धी भ्रम र विभेद हटाउने तथा उपचारमा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।
मानिसले आफ्नो शारीरिक स्वास्थ्यलाई जति महत्त्व दिन्छ, मानसिक स्वास्थ्यलाई भने त्यति नै प्राथमिकता दिएको पाइँदैन। शरीरमा कुनै समस्या देखिएमा तुरुन्तै अस्पताल जाने हामीमध्ये धेरैले मनमा तनाव, चिन्ता वा निराशा बढ्दै जाँदा त्यसलाई सामान्य रूपमा लिने गर्छौं। कतिपयले मानसिक समस्याबारे खुलेर कुरा गर्नसमेत हिचकिचाउँछन्। तर शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य एकअर्काका परिपूरक हुन्। स्वस्थ जीवनका लागि दुवैलाई समान महत्त्व दिन आवश्यक छ।
विगत डेढ दशकलाई हेर्ने हो भने नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना उल्लेख्य रूपमा बढेको छ। पहिले मानसिक समस्या भएका व्यक्तिहरू मनोचिकित्सककहाँ जान हिचकिचाउने गर्थे। समाजले के भन्ला भन्ने डर, गलत धारणा र मानसिक रोगलाई कमजोरीका रूपमा हेर्ने प्रवृत्तिले धेरैलाई उपचारबाट टाढा राखेको थियो। तर अहिले मानिसहरू आफ्नो समस्या लिएर अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्न थालेका छन्। सञ्चारमाध्यमले मानसिक स्वास्थ्यबारे जानकारी प्रवाह गर्न खेलेको भूमिका पनि यसमा महत्त्वपूर्ण छ।
अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै जानुको अर्थ रोग मात्र बढेको हो भन्ने होइन। यसले जनचेतना र उपचार सेवामा पहुँच बढेको सङ्केत पनि गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार न्यून तथा मध्यम आय भएका देशमा विगतमा मानसिक स्वास्थ्य समस्या भएका धेरै मानिस उपचारको पहुँचबाहिर थिए। अहिले उपचार खोज्ने प्रवृत्ति बढ्दै जाँदा अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको देखिन्छ।
नेपालले विभिन्न प्राकृतिक तथा सामाजिक विपद्को सामना गर्दै आएको छ। महाभूकम्प, कोरोना महामारी र अन्य प्राकृतिक विपद्ले मानिसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारेका छन्। यस्ता घटनाले मानिसमा डर, चिन्ता, असुरक्षा, निराशा र तनाव बढाउन सक्छन्। विपद्बाट भौतिक क्षति मात्र हुँदैन, त्यसले व्यक्तिको मनोवैज्ञानिक अवस्थामा पनि दीर्घकालीन असर पार्न सक्छ। त्यसैले विपद् व्यवस्थापनसँगै मानसिक स्वास्थ्य सहयोगलाई पनि प्राथमिकतामा राख्नुपर्छ।
मानसिक स्वास्थ्य समस्याका प्रमुख कारणलाई जैविक, वातावरणीय र मनोवैज्ञानिक गरी तीन पक्षबाट बुझ्न सकिन्छ। अटिजम, एडीएचडी र स्किजोफ्रेनियाजस्ता अवस्थाको विकासमा जैविक तथा वंशानुगत पक्षको भूमिका हुन सक्छ। त्यस्तै, गरिबी, बेरोजगारी, पारिवारिक कलह, सामाजिक विभेद, असुरक्षा र वातावरणीय तनावले पनि मानसिक स्वास्थ्यमा असर पार्छन्। व्यक्तिले भोग्ने अनुभव, सम्बन्ध र जीवनका परिस्थितिले उसको मानसिक अवस्थालाई प्रभावित गर्न सक्छन्।
नेपाली समाजमा पारिवारिक तथा सामाजिक परिस्थितिका कारण पनि मानसिक स्वास्थ्य समस्या देखिने गरेका छन्। वैदेशिक रोजगारीका कारण लामो समयसम्म श्रीमान्–श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, आपसी अविश्वास, मदिरा सेवन र घरेलु हिंसाले विशेषगरी महिलामा तनाव, डिप्रेसन र एन्जाइटीको समस्या बढाउन सक्छ। यस्ता समस्यालाई व्यक्तिको कमजोरीका रूपमा लिनुभन्दा यसको कारण पहिचान गरी आवश्यक मनोसामाजिक सहयोग र उपचारको व्यवस्था गर्नु आवश्यक छ।
त्यसैगरी, पछिल्लो समय युवापुस्तामा मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, गेमिङ, जुवा तथा लागुपदार्थको सेवनजस्ता व्यवहारले मानसिक स्वास्थ्यमा चुनौती थपिरहेका छन्। प्रविधि आफैँमा समस्या होइन, तर यसको अनियन्त्रित प्रयोगले निद्रा, पढाइ, काम, पारिवारिक सम्बन्ध र सामाजिक जीवनमा असर पार्न सक्छ। त्यसैले प्रविधिको सन्तुलित प्रयोग, नियमित दिनचर्या र स्वस्थ सामाजिक सम्बन्ध कायम राख्नु महत्त्वपूर्ण हुन्छ।
मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यबीच गहिरो सम्बन्ध छ। लामो समयसम्म तनावमा रहँदा निद्रामा समस्या आउने, खानपानमा परिवर्तन हुने र दैनिक काममा एकाग्रता घट्ने हुन सक्छ। दीर्घकालीन तनावले मोटोपन, मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगको जोखिमसँग पनि सम्बन्ध राख्न सक्छ। त्यसैले मानसिक समस्यालाई बेवास्ता गर्नु भनेको समग्र स्वास्थ्यलाई जोखिममा पार्नु हो।
मानसिक स्वास्थ्य स्वस्थ राख्न व्यक्तिगत जीवनशैलीमा सुधार गर्न आवश्यक छ। नियमित दिनचर्या अपनाउने, सन्तुलित तथा पोषिलो खाना खाने, पर्याप्त निद्रा लिने, नियमित शारीरिक गतिविधि गर्ने र दुर्व्यसनबाट टाढा रहने बानीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। त्यस्तै, परिवार र साथीभाइसँग आफ्ना भावना तथा समस्या खुलेर साझा गर्ने, आवश्यक पर्दा सहयोग माग्ने र तनाव व्यवस्थापनका उपाय अपनाउने गर्नुपर्छ।
मानसिक स्वास्थ्य समस्या देखिँदैमा डराउनुपर्ने वा लुकाउनुपर्ने आवश्यकता छैन। लामो समयसम्म उदासी रहने, अत्यधिक चिन्ता हुने, निद्रा वा खानपानमा उल्लेख्य परिवर्तन आउने, दैनिक काम गर्न कठिन हुने वा व्यवहारमा असामान्य परिवर्तन देखिने अवस्थामा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ। समयमै पहिचान र उपचार गर्न सकेमा धेरै मानसिक स्वास्थ्य समस्याको व्यवस्थापन सम्भव हुन्छ। मानसिक रोगको उपचार गराउनु कमजोरी होइन, आफ्नो स्वास्थ्यप्रतिको जिम्मेवारी हो।
व्यक्तिगत प्रयाससँगै राज्यको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। सरकारले मानसिक स्वास्थ्यलाई स्वास्थ्य नीतिको अभिन्न अङ्ग बनाउनुपर्छ। मानसिक स्वास्थ्यसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न, आधारभूत स्वास्थ्य सेवामै मानसिक स्वास्थ्य परामर्श उपलब्ध गराउन, दक्ष जनशक्ति बढाउन र ग्रामीण तथा दुर्गम क्षेत्रसम्म उपचार सेवा विस्तार गर्न आवश्यक छ। विद्यालय, कार्यस्थल र समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकेमा समस्या पहिचान र उपचारमा सहजता आउन सक्छ।
मानसिक स्वास्थ्य कुनै एक व्यक्तिको मात्र विषय होइन। यो परिवार, समाज र राष्ट्रको समग्र स्वास्थ्यसँग जोडिएको विषय हो। मानसिक समस्या भएका व्यक्तिलाई हेप्ने, दोष लगाउने वा सामाजिक रूपमा अलग्याउने प्रवृत्तिको अन्त्य गर्दै सहयोग, समझदारी र सम्मानको वातावरण निर्माण गर्नुपर्छ।
अन्ततः स्वस्थ शरीरसँगै स्वस्थ मन पनि आवश्यक छ। शारीरिक स्वास्थ्यमा जस्तै मानसिक स्वास्थ्यमा पनि समयमै ध्यान दिने, समस्या लुकाउनुको सट्टा सहयोग खोज्ने र आवश्यक उपचार लिने संस्कार विकास गर्नुपर्छ। मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु भनेको व्यक्तिको जीवनको गुणस्तर सुधार्नु मात्र होइन, स्वस्थ, संवेदनशील र समृद्ध समाज निर्माण गर्नु पनि हो।

