काठमाडौं ५। २०/ नदीहरू बग्छन्, एकअर्कामा मिसिन्छन् र आफ्नो छुट्टै अस्तित्वलाई विशाल प्रवाहमा समाहित गर्दै अगाडि बढ्छन्। मानिसको जीवन पनि त त्यस्तै हो- मिलन, विछोड, सहयात्रा र स्मृतिहरूको संगम हुँदै निरन्तर अगाडि बढिरहने। यही जीवन दर्शनलाई आत्मसात् गर्दै लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पादकीय जिम्मेवारी सम्हालिरहेका रवीन्द्र तिम्सेनाको ‘आस्थाका संगम’ नामक यात्रा वृत्तान्त कृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंको टेकुस्थित वागमती – विष्णुमती दोभानमा लोकार्पण गरिएको छ। पुस्तक लोकार्पणका लागि रोजिएको स्थान आफैंमा पुस्तकको भावसँग गहिरो सम्बन्ध राख्ने ठाउँ थियो। परापूर्वकालदेखि उत्तरबाट बग्दै आएका वागमती र विष्णुमतीका धाराहरू यहीँ आएर मिसिन्छन्। यी नदीहरूले सिंचित गरेको नेपाल मण्डलको उपत्यकाको सभ्यता मूलतः वागमती सभ्यताको विस्तार हो। त्यसैले दुई नदीको संगममा उभिएर ‘आस्थाका संगम’ सार्वजनिक गर्नु लेखकका लागि केवल संयोग थिएन, यात्राको अनुभूति र जीवन दर्शनको प्रतीक पनि थियो। नदी जस्तैं जीवन: भारतका विभिन्न तीर्थस्थलसम्म ११ दिनसम्म गरिएको यात्राको विवरणमा आधारित ‘आस्थाका संगम’ एउटा सामान्य यात्रा वर्णन मात्र नभएर यात्राका क्रममा भेटिएका स्थान, मानिस, संस्कृति, आस्था र अनुभूतिहरूको दस्तावेज बनेको छ। पुस्तक लोकार्पण कार्यक्रममा लेखक तिम्सेनाले आफूले यात्राका क्रममा विभिन्न ठाउँमा नदीका संगमहरू भेटेको स्मरण गर्दै टेकुको दोभानमै पुस्तक सार्वजनिक गर्नुको अर्थ सुनाए। “जसरी नदीहरू एकअर्कामा मिसिन्छन् र विशाल प्रवाहका साथ अगाडि बढ्छन्, त्यसैगरी मानिसको जीवनमा पनि मिलन, विछोड र सहयात्रा हुँदै जीवन अगाडि बढ्छ,” उनले भने। उनका अनुसार यात्रा सकिएपछि यात्राका साथीहरू छुटे, तर यात्राका अनुभूति छुटेनन्। बरु ती स्मृतिका रूपमा निरन्तर साथ रहिरहे। त्यही स्मृति र अनुभूतिलाई पुस्तकका पानामा उतार्ने प्रयास ‘आस्थाका संगम’ हो। “मैले यात्राका क्रममा सबै ठाउँमा नदीको संगम भेटें। त्यसैले यहाँ दुई नदीको संगममा आएर यो पुस्तक विमोचन गरेको हुँ,” उनले भने। विनाशबीच पनि जीवनको निरन्तरता: कार्यक्रममा बोल्दै २०६८ सालको मदन पुरस्कार विजेता “ सेतो धर्ती “का लेखक अमर न्यौपानेले पनि नदी, विपत्ति र जीवनको निरन्तरताबीचको सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरे। देशले अहिले ठूलो विपत्ति भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। त्यस क्रममा उनले २०७२ सालको भूकम्पको आफ्नै अनुभवसमेत सुनाए। भूकम्प गएको दिन आफू ल्यापटपमा पुस्तकसम्बन्धी काम गरिरहेको स्मरण गर्दै न्यौपानेले अचानक आएको भूकम्पले एउटा साततले घर आफ्नै आँखाअगाडि बिस्तारै पाखातिर ढलेको दृश्य सम्झिए। धुलोको मुस्लो उडेको, मानिसहरू भागदौड गरेको र भग्नावशेषभित्रबाट बच्चा रोएको घटना उनले सुनाए। घर भत्किँदा बाहिर निस्कन खोज्नेहरू पुरिएर ज्यान गुमाए पनि माथिल्लो तलामा रहेको एउटा बच्चा भने जीवितै भेटिएको उनले बताए। तर विनाशको केही समयपछि त्यही भग्नावशेषबाट उम्रिएको हरियो मकैको बोटले आफूलाई जीवनको अर्को अर्थ सिकाएको उनले बताए। “त्यो बीऊ सायद त्यहीँ थियो होला। जीवनको ठूलो विनाश भए पनि सृष्टिको चक्र भने रोकिँदो रहेनछ,” न्यौपानेको भनाइ थियो। “ And Life Goes On” को कथा: न्यौपानेले इरानमा गएको भूकम्पको पृष्ठभूमिमा बनेको फिल्म ‘And Life Goes On’ को प्रसङ्गसमेत सुनाए। विपत्तिपछि पनि मानिसले जीवनलाई निरन्तरता दिनुपर्ने बाध्यता र चाहनालाई फिल्मले देखाएको उल्लेख गर्दै उनले त्यसमा भूकम्पपछि एक व्यक्ति शौचालय बनाइरहेको दृश्यको उदाहरण दिए। “मानिसहरू मरे, तर बाँचेकाहरूलाई सफाइका लागि शौचालय चाहिन्छ। जीवन अगाडि बढ्छ,” उनले भने। विपत्तिको समयमा पनि मानिसहरू विश्वकप हेरिरहेको प्रसङ्गले उनलाई अझ गहिरो जीवन दर्शन दिएको उनले बताए। ‘यस्तो विपत्तिको बेला पनि विश्वकप हेर्ने?’ भन्ने प्रश्नको जवाफमा मानिसहरूले दिएको तर्क थियो, मरेकाहरू मरे, तर बाँचेकाहरूका आफ्ना इच्छा र आकांक्षा छन्; हरेक चार वर्षमा आउने विश्वकप उनीहरू छुटाउन चाहँदैनन्। त्यसैगरी फिल्ममा विपत्तिपछि विवाह गरिरहेको जोडीको दृश्य देखाइएको प्रसङ्ग सुनाउँदै न्यौपानेले भने, “मरेकाहरू मरे, हामी बाँचेकाहरूले सृष्टि चलाउन विवाह गर्नैपर्छ।” भूकम्पपछि भग्नावशेषबाट उम्रिएको हरियो मकै र विपत्तिपछि मानिसले पुनः विवाह गरेर जीवन अघि बढाउने प्रसङ्गलाई जोड्दै उनले भने, सृष्टिले कहिल्यै हार मान्दैन। बाढीपछि पनि उम्रिने हरियाली: नदीसँग जोडिएको ‘आस्थाका संगम’ को लोकार्पण समारोहमा न्यौपानेले पछिल्लो समय देशमा देखिएको बाढीपहिरो र नदीजन्य विपत्तिलाई पनि यही जीवन दर्शनसँग जोडेर हेरे। उनका अनुसार आज बाढीले विनाश गरेको ठाउँमा केही समयपछि फेरि हरिया बिरुवाहरू उम्रिनेछन्। प्रकृतिले विनाशपछि पुनर्निर्माणको बाटो आफैं खोज्छ। “अबको दुई , तीन महिनापछि बाढी आएको ठाउँमा केही हरिया बिरुवाहरू अवश्य उम्रिन्छन्,” उनले आशावादी हुँदै भने। उनको प्रस्तुतिको मूल भाव एउटै थियो- जीवन रोकिँदैन। “जीवन जहिले पनि अगाडि बढ्छ। अहिले यो पुस्तक लोकार्पण गरेका छौं। यो पनि अगाडि बढ्नकै लागि हो,” उनले सुनाए। पुस्तकभन्दा परको यात्रा: ‘आस्थाका संगम’ले नेपालदेखि भारतका विभिन्न तीर्थस्थलसम्मको ११ दिने यात्रालाई समेटेको भए पनि यसको केन्द्रमा केवल तीर्थयात्रा छैन। यात्रामा भेटिएका नदी, संगम, धर्म, संस्कृति, भूगोल, मानिस र स्मृतिमार्फत लेखकले जीवनलाई बुझ्ने प्रयास गरेका छन्। यात्रामा भेटिएका संगमहरू पुस्तकका शीर्षकसँग जोडिएका छन् भने टेकुको वागमती–विष्णुमती दोभानमा भएको लोकार्पणले त्यस शीर्षकलाई जीवन्त बनाएको छ। यस अर्थमा ‘आस्थाका संगम’ एउटा यात्राको अन्त्य होइन; यात्राबाट प्राप्त अनुभूतिको अर्को यात्रा हो, पाठकसम्म पुग्ने यात्रा। कार्यक्रममा मकालुका प्रकाशनका प्रकाशकले लेखक तिम्सेनालाई सिर्जनात्मक यात्रामा निरन्तर अगाडि बढ्न शुभकामना व्यक्त गरे। पुस्तक लोकार्पण समारोहमा प्राचार्य बाबुलाल भण्डारीलगायत साहित्य, शिक्षा तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। वागमती र विष्णुमतीको संगममा आयोजित उक्त समारोहले अन्ततः एउटा गहिरो सन्देश छोड्यो , नदीहरू बगिरहन्छन्, समय बगिरहन्छ, मानिसहरू भेटिन्छन् र छुटिन्छन्; तर जीवनको प्रवाह भने रोकिँदैन। ‘आस्थाका संगम’ त्यही निरन्तर प्रवाहको एउटा साहित्यिक स्मृति हो।



