काठमाडौँ, ६ असोजः टोखा काठमाडौंस्थित श्री पिगं द्य: दाफा खलः सःहलुबीले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु. १ लाख १ हजार १ सय ११ सहयोग गरेको छ। संस्थाले आज असोज ६ गते प्रधानमन्त्री बाढीपीडित राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो। सहयोग रकममध्ये गत साता आयोजित लाखे नाचबाट रु. ७१ हजार तथा संस्थाका सदस्यहरूबाट रु. ३० हजार संकलन गरिएको थियो।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पीडित परिवारको दुःखमा थोरै भए पनि साथ दिने उद्देश्यले सहयोग गरिएको संस्थाका अध्यक्ष अष्टमान श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष श्रेष्ठले बाढीपीडितले भोगिरहेको पीडा र क्षतिको तुलनामा सहयोग रकम सानो भए पनि दुःखको समयमा आफूले सकेको सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयो। संस्थाले सांस्कृतिक गतिविधिबाट संकलित रकम बाढीपीडितको राहतमा समर्पण गर्दै सामाजिक उत्तरदायित्वसँगै मानवीय सहकार्य र सद्भावको उदाहरण प्रस्तुत गरेको छ।

