• TOKHA LIVE

      TOKHA LIVE

    • २९ श्रावण २०८३, शुक्रबार १४:०७

    टोखामा गुंला पर्व तथा चतुर्मास भजन सुरु

    टोखालाइभ डटकम / २०८३ साल साउन २९, काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक नगरी टोखामा मौलिक परम्परासँग जोडिएको गुंला पर्व तथा चतुर्मास दाफा भजन सुरु भएको छ। नेवार समुदायको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्व राख्ने गुंला पर्व एक महिनासम्म विभिन्न धार्मिक गतिविधि र परम्परागत बाजागाजासहित मनाइन्छ भने चतुर्मास भजन पनि यसै अवधिसँगै सुरु हुने गर्दछ।

    विशेषगरी बौद्ध धर्मावलम्बी नेवार समुदायले गुंला पर्वलाई महत्वपूर्ण धार्मिक पर्वका रूपमा मनाउने गरेका छन्। पर्वका क्रममा भक्तजनहरू बिहानै विभिन्न बौद्ध विहार, चैत्य तथा देवालयमा पुगेर पूजा तथा दर्शन गर्ने परम्परा छ।

    काठमाडौं उपत्यकाका नेवार समुदायमा गुंला पर्वका अवसरमा परम्परागत गुंला बाजा बजाउँदै स्वयम्भू लगायत विभिन्न बौद्ध तीर्थस्थलमा पुग्ने चलन छ। एक महिनासम्म धार्मिक गतिविधिमा सहभागी हुँदा पुण्य प्राप्त हुने जनविश्वासका कारण भक्तजनहरू विभिन्न तीर्थस्थलमा पुग्ने गरेका छन्।

    यद्यपि गुंला पर्व धार्मिक पर्वका रूपमा परिचित भए पनि यस अवधिमा नेवार समुदायमा आफ्नै मौलिक खानपान तथा सामाजिक परम्परा पनि जोडिएको पाइन्छ। काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदायले विहार, बहि तथा विभिन्न धार्मिकस्थलमा गुंला पर्व मनाउने गरेका छन्।

    सपनतीर्थ धाँ खलःको परम्परा

    टोखामा गुंला पर्वलाई निरन्तरता दिन सपनतीर्थ धाँ खलःले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। धाँ खलःका सदस्यहरूले परापूर्वकालदेखि धाँ बाजा बजाउँदै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।

    स्थानीय परम्पराअनुसार श्रावण चतुर्दशीको भोलिपल्ट प्रतिपदादेखि प्रत्येक दिन सपनतीर्थमा पूजा गरी टोखा परिक्रमा गर्ने चलन रहेको टोखाका मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो।

    हाल सपनतीर्थ धाँ खलःमा आठ जना सदस्य रहेको जनाइएको छ। एक महिनासम्म सञ्चालन हुने धाँ बाजा परम्पराको अन्त्यमा कुशे औँसीको भोलिपल्ट पारुका दिन स्वयम्भूमा पूजा गरी भोज खाने र त्यसको भोलिपल्ट सपनतीर्थमा भोज गरेपछि गुंला पर्व समापन गर्ने परम्परा रहेको श्रेष्ठले बताउनुभयो।

    चतुर्मासमा गुञ्जिन्छन् टोखाका भजन

    टोखामा श्रावण महिनादेखि चतुर्मास भजन पनि सुरु हुन्छ। चार महिनासम्म सञ्चालन हुने यो भजन बुढानीलकण्ठ नारायणस्थानको मेलासँग जोडिएको छ।

    चतुर्मास अवधिमा साँझ खाना खाइसकेपछि विभिन्न पाटी तथा निर्धारित भजनघरमा बसेर भजन गाउने गरिन्छ। भजनमा खिं, झ्याली, बाँसुरी, ढोलक लगायतका परम्परागत बाजा बजाइन्छन्। विभिन्न देवीदेवतासँग सम्बन्धित थ्यासफु अर्थात् भजन गीत गाउने परम्परा रहेको छ।

    टोखामा विभिन्न सांस्कृतिक बाजा खलः तथा भजन खलः सक्रिय छन्। तीमध्ये सपनतीर्थ दाफा खलः, इन्द्रायणी दाफा खलः, सहलुबी पिगंद्य दाफा खलः, चण्डेश्वरी ईकुलाग दाफा खलः, जोर भीमसेन दाफा खलः र चण्डेश्वरी भजन खलःले चतुर्मास भजनको परम्परालाई निरन्तरता दिँदै आएका छन्।

    बाजागाजाले गुञ्जिन्छ टोखाको बस्ती

    टोखाका विभिन्न नेवार बस्तीमा रहेका बाजा तथा भजन खलःका कारण पर्व तथा जात्राका समयमा वातावरण थप उल्लासमय बन्ने गरेको छ। विभिन्न जात्रा तथा पर्वमा यी समूहले गाउँ तथा टोल परिक्रमा गर्दै परम्परागत बाजा बजाउने गरेका छन्।

    बाँसुरी, खिं र धिमाय्लगायतका बाजाको सांगीतिक धुनले टोखाको बस्ती गुञ्जायमान हुने गरेको छ। यस्ता सांस्कृतिक समूहले बिस्केट जात्रा, इन्द्रजात्रा, कृष्ण जात्रा, माघ पूर्णिमा, यमरी पूर्णिमा तथा सकिमन्हा पूर्णिमालगायतका पर्वमा पनि परम्परागत बाजा बजाउँदै आएका छन्।

    गठेमंगल चतुर्दशीको भोलिपल्टदेखि चतुर्मास भजन सुरु गरी सकिमन्हा पूर्णिमासम्म विभिन्न टोलका निर्धारित भजनघर तथा पाटीमा बसेर भजन गर्ने परम्परा रहेको स्थानीय बताउँछन्। सामान्यतः साँझ ७ बजेदेखि ९ बजेसम्म भजन गाउने गरिन्छ।

    विभिन्न स्थानमा नियमित भजन

    टोखामा रहेका दाफा तथा भजन खलःले आ–आफ्नो पायक पर्ने स्थानमा नियमित भजन गर्ने गरेका छन्। प्रत्येक मंगलबार चण्डेश्वरी, गणेशस्थान तथा कोट गणेश क्षेत्रमा तथा प्रत्येक शनिबार सपनतीर्थ, मसानकाली र इन्द्रायणी माईमा भजन गर्ने परम्परा रहेको छ।

    विभिन्न पर्व तथा जात्रामा यी खलःहरूले धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै सामूहिक भोजको परम्परालाई समेत निरन्तरता दिँदै आएका छन्। इन्द्रजात्राको अन्तिम दिन, यमरी पूर्णिमा, सकिमन्हा पूर्णिमा, कृष्ण जात्रा र फागुपूर्णिमालगायतका अवसरमा भोज खाने चलन रहेको स्थानीय बताउँछन्।

    सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान

    स्थानीय मान्यताअनुसार जेठ र असार महिनामा बाजागाजा बजाउन नहुने परम्परा रहेको छ। त्यसपछि सुरु हुने गुंला पर्व, चतुर्मास भजन तथा विभिन्न जात्रा–पर्वले टोखाको सांस्कृतिक जीवनलाई थप जीवन्त बनाउने गरेको छ।

    टोखाका यी दाफा खलः तथा भजन खलः केवल मनोरञ्जनका माध्यम नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक कला, संगीत, धार्मिक आस्था र सामुदायिक एकताको संरक्षण गर्ने महत्वपूर्ण संस्थाका रूपमा रहेका छन्।

    स्थानीय संस्कृति तथा सम्पदा संरक्षण अभियन्ताहरूले टोखाको मौलिक सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्दै संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको टोखामा गुंला पर्व र चतुर्मास भजनजस्ता परम्परालाई व्यवस्थित रूपमा संरक्षण गर्न सके यसले स्थानीय सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने देखिन्छ।

    फोटो स्रोत : टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, नेवा: गुथी टोखा,  प्रकाश डंगोल तथा मुक्तिमान डंगोल।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै