• TOKHA LIVE

      TOKHA LIVE

    • २६ श्रावण २०८३, मंगलवार १२:४३

    गथांमुगः चह्रे

    – फ्रानकी फ्रान्ज

    काठमाडौं उपत्यकाका आदिवासी नेवा समुदाय संस्कृति, परम्परा, रीतिरिवाज, भाषा तथा कलामा समृद्ध छन्। विविध संस्कृति र अनेकौँ चाडपर्व मनाउने समुदायका रूपमा नेवा समुदायको आफ्नै विशिष्ट पहिचान छ।

    गथांमुगः चह्रे काठमाडौं उपत्यका तथा नेपालका विभिन्न नेवा बस्तीमा मनाइने प्रमुख पर्वमध्ये एक हो। यो नेपाल संवत्को नवौँ महिना ‘दिल्ला’ को चतुर्दशी अर्थात् औँसीभन्दा एक दिनअघि मनाइन्छ।

    यस दिन सडकका चोक तथा चौबाटोमा बाँस वा परालबाट दुष्ट आत्मा र भूतप्रेतको प्रतीक बनाइन्छ, जसलाई ‘गाथामुगा ख्या’ भनिन्छ। उक्त प्रतीकलाई जलाउने वा नदीमा लगेर विसर्जन गर्ने चलन छ।

    बिहान घर सफा गरी विभिन्न अनुष्ठान गरिन्छ। फायरिङ संस्कार यस पर्वको महत्वपूर्ण पक्ष हो। परालको गुच्छामा आगो बालेर घरका हरेक कुनामा लगिन्छ र अन्त्यमा त्यसलाई नजिकैको चोकमा लगेर राखिन्छ। विभिन्न टोलमा बनाइएका दुष्ट आत्माका प्रतीकलाई तानेर वा जलाइसकेपछि राति पुनः विशेष अनुष्ठान गरिन्छ।

    गथांमुगः चह्रेको रातमा ‘बौ पाः’ राख्ने चलन पनि छ। यस क्रममा विशेष सामग्री टेराकोटाको भाँडोमा राखेर चोकमा लगिन्छ। त्यसपछि घरको मूलढोकामा ‘गथाम्व स्वाँ’ नामक विशेष फूल राखी पूजा गरिन्छ र ढोकामा विशेष तीनखुट्टे कीला ठोक्ने परम्परा छ। परिवारका सबै सदस्य घरभित्र प्रवेश गरेपछि मूलढोकामा ताला लगाइन्छ र भोलिपल्ट बिहानसम्म नखोल्ने चलन रहेको छ।

    लोककथाअनुसार गथांमुगः चह्रेले सहरबाट भूतप्रेत तथा दुष्ट आत्मालाई हटाउने काम गर्छ। पुरानो समयमा ‘अक्षय तृतीया’का दिन भूत तथा आत्मालाई सहरमा निम्तो दिने चलन रहेको र अहिले त्यो परम्परा लोप भइसकेको बताइन्छ।

    पुरानो काठमाडौं उपत्यका उर्वर भूमि तथा अन्न उत्पादनका लागि प्रसिद्ध थियो। त्यसबेला मानिसहरूलाई खेतीपातीका लागि निकै मिहिनेत गर्नुपर्थ्यो। धान प्रमुख बाली भएकाले रोपाइँमा विशेष ध्यान दिइन्थ्यो। धान रोपाइँको समयमा कामलाई सहज र छिटो बनाउन भूत तथा आत्मालाई घरमा बोलाएर मानवीय काममा लगाउने विश्वाससमेत रहेको किंवदन्ती पाइन्छ।

    तर भूत तथा आत्मालाई खुवाएर सन्तुष्ट पार्न सम्भव नहुने विश्वास थियो। त्यसैले धान रोपाइँ सकिएपछि गथांमुगः चह्रेमा घर–घरबाट भूतप्रेत तथा पिशाचलाई पन्छाउने परम्परा बसेको मानिन्छ।

    यो दिन तामा, काँसा, पीतल वा फलामबाट बनेको विशेष औँठी लगाउने चलन पनि छ। महिलाहरूले हातमा मेहँदी लगाउने गर्छन्, जसलाई स्थानीय भाषामा ‘लैंचा छिगु’ भनिन्छ। विशेष औँठी लगाउने तथा मेहँदी लगाउने कार्यले दुष्ट आत्मा तथा भूतप्रेतको प्रभावबाट बचाउने जनविश्वास छ।

    त्यस्तै, बोक्सीविद्या वा कालो जादुसम्बन्धी ज्ञान हासिल गरेका व्यक्तिहरूले यस दिन आफ्नो सिकाइ औपचारिक रूपमा पूरा गर्ने र मानिसलाई दुष्ट आत्मा तथा भूतप्रेतबाट जोगाउने आत्मालाई निम्त्याउने विश्वाससमेत रहेको बताइन्छ।

    गथांमुगः कि घण्टाकर्ण ?

    वर्तमान समयमा गथांमुगःलाई गैर–नेवा समुदायले ‘गाथेमंगल’ भनेर उच्चारण गर्ने र यसलाई ‘घण्टाकर्ण’का रूपमा चिनाउने गरेको पाइन्छ। केही विज्ञहरूले भने गथांमुगःलाई घण्टाकर्णसँग जोड्नु उचित नभएको तर्क गर्छन्।

    घण्टाकर्ण भारतको काशीमा रहेको र ठूला आँखा, घण्टीसहितका ठूला तथा गह्रौँ कानका कुण्डल भएको राक्षसको नामका रूपमा उल्लेख गरिन्छ।

    कतिपय विज्ञका अनुसार ‘गाथामुगा’ शब्दले चोक वा चौबाटोलाई समेत जनाउँछ। ‘–गा’, ‘–था’ र ‘–मुगा’सँग मिल्ने नामहरू विभिन्न स्थानमा पाइन्छन्, जस्तै सौगा, हौगा, नुगा, न्यागा, प्यानगाथा, नौमुगा र चिकामुगा आदि।

    चोक तथा चौबाटोलाई भूतप्रेत र आत्माहरूको घरका रूपमा मानिने परम्परा पनि छ। मृतक तथा भूतप्रेतसँग सम्बन्धित कतिपय कर्मकाण्ड चोकमै पुगेर सम्पन्न गरिने भएकाले ‘गाथामुगा’ले भूत तथा आत्माको घरलाई जनाउने विश्वाससमेत रहेको छ।

    केही स्थानीय शब्द र परम्परा

    १. दिल्ला (डिल्ला): नेपाल संवत्को चन्द्र पात्रोअनुसारको नवौँ महिना।

    २. बौ पाः: गथांमुगः चह्रेको रातमा गरिने विशेष अनुष्ठान। टेराकोटाको भाँडोमा मासुको टुक्रा, नङ, कपडा, परिवारका सदस्यको कपाल, फलामको कीला, धूप, बत्ती लगायतका सामग्री राखेर अन्त्यमा चोकमा लगिन्छ।

    ३. गथाम्व स्वाँ: यस दिन घरको मूलढोकाको पूजा गर्न प्रयोग गरिने विशेष फूल। यसले भूतप्रेत तथा दुष्ट आत्मालाई भगाउने विश्वास गरिन्छ।

    ४. अक्षय तृतीया: शिव र पार्वतीको विवाह भएको दिनका रूपमा शुभ मानिने तिथि।

    ५. लैंचा छिगु: हातमा मेहँदी लगाउने स्थानीय शब्द। यसलाई गैर–नेवा समुदायमा मेहँदीका रूपमा चिनिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै