टाेखा , काठमाडौं श्रावण १९। सामाखुसी–टोखा–झोर सडक विस्तारको विषयलाई लिएर स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियन्ता तथा विभिन्न संघर्ष समितिहरूले सरकारलाई अत्यन्त गम्भीर ध्यानाकर्षण गराएका छन्।
सामाखुसी–टोखा–झोर सडक विस्तारहरूले यो सडकलाई अन्य सामान्य सडकसरह नहेरी “सांस्कृतिक पथ” का रूपमा स्वीकार गर्न र त्यसअनुसार संरक्षण गर्न माग गरेका छन्।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई बुझाइएको विस्तृत ध्यानाकर्षण पत्रमा टोखा केवल एउटा पुरानो बस्ती नभई बागमती–विष्णुमती सभ्यताको उद्गमस्थलमध्ये एक, नेपाल उपत्यकाको प्राचीन नेवाः सभ्यताको जीवित केन्द्र तथा इतिहास, संस्कृति, धर्म र परम्पराको धरोहर भएको उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्रमा वरिष्ठ संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीको पहलमा टोखा क्षेत्रलाई संस्कृति संरक्षित क्षेत्र घोषणा गरिएको स्मरण गराइएको छ। त्यससँगै टोखा नगरपालिकाले समेत यस क्षेत्रलाई “देशकै पहिलो विशेष संस्कृति संरक्षित क्षेत्र” बनाउने निर्णय गरिसकेको अवस्थामा यहाँका सडक, बस्ती र सम्पदाको संरक्षण अझ महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरिएको छ।
स्थानीयका अनुसार सामाखुसीदेखि झोरसम्म फैलिएको यो सडक केवल मानिस र सवारीसाधन हिँड्ने बाटो होइन। यही बाटोले सयौं वर्षदेखि स्थानीय समाजको संस्कृति, परम्परा, आस्था र सामाजिक सम्बन्धलाई एक सूत्रमा बाँध्दै आएको छ।
टोखाका बासिन्दाका लागि जन्मदेखि मृत्युसम्मका अधिकांश धार्मिक, सांस्कृतिक र सामाजिक संस्कार यही मार्गसँग गाँसिएका छन्। विवाह, व्रतबन्ध, देवाली पूजा, शवयात्रा, पिण्डदान, गुठीका गतिविधि, भजन–कीर्तन, शोभायात्रा तथा धार्मिक अनुष्ठानहरू यही सडक हुँदै सञ्चालन हुँदै आएका छन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार वर्षभर आयोजना हुने बिस्काजात्रा, गाईजात्रा, रोपाइँ जात्रा, कृष्णजात्रा, इन्द्रजात्रा, लाखेनाच, रथयात्रा, गुँलाबाजा, दाफा भजन, स्वस्थानी व्रत, नवरात्र, शिवरात्रि तथा अन्य थुप्रै धार्मिक र सांस्कृतिक पर्वहरू यही मार्गसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। त्यसैले यो बाटो स्थानीय समुदायको सांस्कृतिक जीवनरेखा बनेको उहाँहरूको भनाइ छ।
ध्यानाकर्षण पत्रमा सडक वरपर रहेका ऐतिहासिक तथा धार्मिक सम्पदाको विस्तृत विवरणसमेत प्रस्तुत गरिएको छ।
सपनातीर्थ, नारायण पोखरी, चण्डेश्वरी मन्दिर, बालकुमारी मन्दिर, महेन्द्रेश्वर मन्दिर, गुप्तेश्वर महादेव, बौडेश्वर भरना महादेव गुफा, बुद्धभूमि विहार, ऐतिहासिक ढुङ्गेधारा, मायबुहिटी धारा, फल्चा, सत्तल, गुठी स्थल, ऐतिहासिक प्रवेशद्वार, सरस्वती चौर, भूतखेल, सामुदायिक विद्यालयहरू तथा सयौं मूर्त र अमूर्त सम्पदाहरू यही सडकको अस्तित्वसँग गाँसिएका छन्।
स्थानीयका अनुसार यी सम्पदाहरू कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण काठमाडौं उपत्यकाको साझा सांस्कृतिक सम्पदा हुन्।
संघर्ष समितिहरूले सडकको चौडाइ वा स्वरूप परिवर्तन गर्दा त्यसले केवल घर–संरचना मात्र नभई सम्पूर्ण रैथाने सभ्यता र पहिचानमा गम्भीर असर पार्ने बताएका छन्।
उहाँहरूको भनाइमा, नेवाः सभ्यताको आत्मा यही बाटोमा बाँचिरहेको छ। यही मार्गले नेवार, तामाङ, ब्राह्मण, क्षेत्रीलगायत सबै समुदायलाई एउटै सांस्कृतिक सूत्रमा जोडेको छ। त्यसैले यो सडकलाई केवल यातायातको दृष्टिले हेर्नु ऐतिहासिक यथार्थलाई बेवास्ता गर्नु सरह हुने उहाँहरूको तर्क छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “यो बाटो हाम्रो समुदायको रक्तनली हो। यहाँ संस्कृति हिँड्छ, इतिहास बोल्छ र पुस्तौंदेखिको पहिचान बाँच्छ।”
संघर्ष समितिहरूले झोरदेखि सामाखुसीसम्मको सडकको स्वरूप परिवर्तन गरिए हजारौं स्थानीय परिवार प्रत्यक्ष प्रभावित हुने बताएका छन्।
सडक पीडितहरूका अनुसार सडक विस्तारको नाममा सयौं वर्षदेखि बसोबास गर्दै आएका स्थानीय समुदाय विस्थापित हुने, ऐतिहासिक संरचनाहरू नष्ट हुने तथा जीवित सांस्कृतिक परम्परा नै संकटमा पर्ने अवस्था आउन सक्छ।
विज्ञप्तिमा विकासको विरोध नभई संस्कृति र सम्पदालाई बचाउँदै विकास गर्नुपर्ने धारणा स्पष्ट रूपमा राखिएको छ।
ध्यानाकर्षण पत्रमा नेपालले अनुमोदन गरेका आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, संयुक्त राष्ट्रसंघीय घोषणापत्र (UNDRIP), ILO–169 लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा नेपालको संविधान र प्रचलित कानुनले रैथाने संस्कृति, सम्पदा र पहिचानको संरक्षणलाई विशेष महत्व दिएको उल्लेख गरिएको छ।
त्यसैले विकास निर्माणका योजना अघि बढाउँदा स्थानीय समुदायको पूर्वस्वीकृति, सहभागिता र सांस्कृतिक संवेदनशीलतालाई अनिवार्य रूपमा सम्मान गर्नुपर्ने संघर्ष समितिहरू माग छ।
संघर्ष समितिहरूले २०४५ सालको तत्कालीन नगर विकास समितिको सडक सम्बन्धी निर्णय तथा २०७६ सालमा मन्त्रिपरिषद्बाट प्रस्तावित सडकको नामाकरण र मापदण्ड खारेज गर्न सरकारसँग माग गरेका छन्।
संघर्ष समितिले सडक विस्तारका लागि विकल्प खोज्न, स्थानीयको भावना बुझ्न, सम्पदा संरक्षणलाई पहिलो प्राथमिकता दिन तथा संस्कृति–मैत्री विकासको मोडेल अपनाउन आग्रह गरेका छन्।
विज्ञप्तिको अन्त्यमा विकास र सम्पदा संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने सन्देश दिइएको छ।
त्यहाँ भनिएको छ, “विकास आवश्यक छ, तर त्यो आफ्नो इतिहास, सभ्यता, संस्कृति र पहिचान मेटाएर होइन। आज नष्ट भएका सम्पदा र संस्कृतिलाई भविष्यमा कुनै प्रविधिले पुनः फर्काउन सक्दैन। त्यसैले सामाखुसी–टोखा–झोर सडकलाई केवल सडकका रूपमा होइन, हाम्रो सभ्यता, संस्कृति र अस्तित्व बोकेको सांस्कृतिक पथका रूपमा संरक्षण गरियोस्।”
स्थानीय संघर्ष समितिहरूले सरकार, स्थानीय तह, सम्बन्धित निकाय तथा सम्पूर्ण नागरिक समाजलाई विकाससँगै सम्पदा संरक्षणको दायित्व पनि समान रूपमा वहन गर्न आग्रह गर्दै “जय सम्पदा, सभ्यता र संस्कृति” भन्ने नारासहित आफ्नो ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्।



