– सानुराज डंगोल
काठमाडौं, श्रावण १८,२०८३। कुनै पनि सफलता रातारात प्राप्त हुँदैन। त्यसका पछाडि वर्षौंको निरन्तर अभ्यास, अनुशासन, धैर्य र अटल आत्मविश्वास लुकेको हुन्छ। काठमाडौंको टोखा नगरपालिका वडा ३ का स्थानीय युवा शेमजोङ गुरुङको तेक्वान्दो यात्रा पनि त्यस्तै संघर्ष, समर्पण र सफलताको प्रेरणादायी कथा बनेको छ।
फ्रेन्डसिप तेक्वान्दो डोजाङ (टोखा २) बाट आफ्नो खेल यात्रा सुरु गरेका शेमजोङले सानैदेखि तेक्वान्दोप्रति गहिरो लगाव राख्दै नियमित अभ्यासलाई निरन्तरता दिए। रानीबन तेक्वान्दो महानगरसँग आबद्ध फ्रेन्डसिप तेक्वान्दो डोजाङमा उनले निरन्तर मेहनत गर्दै आफ्नो प्रतिभा निखारे।

उनको यात्राको महत्वपूर्ण मोड २०२४ मे २४ मा आयो, जब उनले नेपाल तेक्वान्दो संघद्वारा आयोजित ब्ल्याक बेल्ट प्रथम डान (1st Dan) प्रमोसन टेस्ट सफलतापूर्वक उत्तीर्ण गरे। त्यसपछि २०२४ अक्टोबर २८ मा दक्षिण कोरियास्थित कुक्किवोनबाट ब्ल्याक बेल्ट प्रथम डानको आधिकारिक प्रमाणपत्र र डान आईडी कार्ड प्राप्त गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त ब्ल्याक बेल्ट खेलाडी बने।
त्यसपछि उनले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डको पटाया सिटीमा आयोजित नवौँ हिरोज तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप २०२६ मा सहभागिता जनाए।
पुरुष १८ वर्षमाथि, ५४ केजी (G3) क्योरुगी स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले स्वर्ण पदक जितेर नेपालको राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराए।
यस प्रतियोगितामा रानीबन तेक्वान्दो महानगरअन्तर्गतको फ्रेन्डसिप तेक्वान्दो डोजाङ, टोखा वडा २ ले पनि उल्लेखनीय सफलता हासिल गर्यो। शेमजोङ गुरुङ र दिप्सन राईले स्वर्ण पदक, सेनिहाङ योङहाङले रजत तथा सुसन श्रेष्ठले कांस्य पदक जिते। टोखाका प्रशिक्षक सुसन श्रेष्ठको नेतृत्वमा टोलीले दुई स्वर्ण, एक रजत र एक कांस्यसहित चार पदक जित्दै नेपाललाई गौरवान्वित बनाएको हो।

यस ऐतिहासिक सफलतापछि आफन्त , परिवार ,स्थानीय समुदाय, तेक्वान्दो प्रेमी तथा शुभेच्छुकहरूले शेमजोङ गुरुङ र प्रशिक्षक सुसन श्रेष्ठलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले शेमजोङको उत्कृष्ट प्रदर्शनले फ्रेन्डसिप तेक्वान्दो डोजाङ, रानीबन तेक्वान्दो महानगर तथा टोखा नगरपालिकाको नाम उज्यालो बनाएको भन्दै गर्व व्यक्त गरेका छन्।
शुभेच्छुकहरूको भनाइमा, “शेमजोङको यो सफलता उनको अथक मेहनत, अनुशासन र संघर्षको प्रतिफल हो। यो उपलब्धि केवल एउटा डोजाङको मात्र नभई सम्पूर्ण नेपाली तेक्वान्दो परिवारका लागि गर्वको विषय हो। आगामी दिनमा पनि उनले अझ ठूला अन्तर्राष्ट्रिय सफलता हासिल गर्दै देशको नाम अझ उँचो बनाउन् भन्ने शुभकामना छ।”
टोखा वडा ३ का एक साधारण युवाबाट अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेतासम्मको शेमजोङको यात्रा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। उनले प्रमाणित गरेका छन् कि सपना देख्ने साहस, निरन्तर अभ्यास र अटल अठोट भए कुनै पनि लक्ष्य असम्भव हुँदैन।

आज शेमजोङ गुरुङ केवल एउटा स्वर्ण पदक विजेता खेलाडी मात्र होइनन्, टोखा नगरपालिकाको गौरव, नेपाली तेक्वान्दोको उज्यालो भविष्य र मेहनतले असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन्। उनको यो स्वर्णिम यात्रा आगामी दिनमा अझ धेरै अन्तर्राष्ट्रिय सफलता र नेपालको गौरवसँग जोडिँदै जाओस् भन्ने सबैको शुभकामना छ।


