• TOKHA LIVE

      TOKHA LIVE

    • १८ श्रावण २०८३, सोमबार १६:३२

    युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

     

    काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रमले शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको सरोकारवालाहरूले बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका प्रबन्ध निर्देशक जोनाथन चान्था, चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा काठमाडौं मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले सीपमूलक शिक्षा, रोजगारी सिर्जना र युवाको क्षमता विकासका विषयमा आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा बोल्दै चान्थाले एलजी इलेक्ट्रोनिक्सले सन् १९५८ देखि उपभोक्ताको जीवनलाई सहज, गुणस्तरीय र सुखद बनाउने उद्देश्यका साथ विभिन्न प्रविधि तथा समाधानहरू विकास गर्दै आएको बताए ।

    ग्राहकको जीवनमा मूल्य सिर्जना गर्नु कम्पनीको मूल दर्शन रहेको उल्लेख गर्दै उनले कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका आधुनिक प्रविधिमार्फत उपभोक्ताको जीवनलाई थप सहज बनाउने प्रयास भइरहेको बताए । उनले एलजीले गृह मनोरञ्जन, गृह उपकरण, वातानुकूलन तथा ऊर्जा समाधान र विद्युतीय सवारी साधनका कम्पोनेन्ट उत्पादनका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

    व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै नेपालमा डिजिटल शिक्षा र प्राविधिक सीप विकासका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

    विशेषगरी एयर कन्डिसनर तथा रेफ्रिजेरेटर जस्ता उपकरणहरूको जडान र मर्मतसम्बन्धी तालिममार्फत युवाहरूलाई रोजगारी तथा स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । आफ्नो ३४ वर्ष लामो व्यावसायिक अनुभव सुनाउँदै उनले निरन्तर सिकाइलाई सफलता र खुशीको आधारका रूपमा व्याख्या गरे ।

    त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा एलजी विगत ४० वर्षदेखि अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहेको उल्लेख गर्दै ठूलो ब्रान्डसँग ठूलो सामाजिक जिम्मेवारी पनि जोडिने बताए । उनले पछिल्लो दशकमा एलजी र सीजीले सामाजिक उत्तरदायित्व अन्तर्गत सीप विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

    चौधरीका अनुसार एलजी र सीजीले संयुक्त रूपमा हालसम्म करिब ४०० युवालाई प्राविधिक तालिम प्रदान गरिसकेका छन् । तीमध्ये करिब ३० प्रतिशतले रोजगारीको अवसर प्राप्त गरिसकेको उनले बताए । कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिको विकास तीव्र भइरहेका बेला व्यवहारिक तथा प्राविधिक सीपको महत्व अझै उच्च रहेको उनको भनाइ थियो ।

    उनले चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालन भइरहेको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरशिप’ कार्यक्रमबारे जानकारी दिँदै तीन वर्षमा १,२०० युवा स्नातक भइसकेको, १,१०० भन्दा बढी नयाँ रोजगारी सिर्जना भएको तथा ४६ वटा नयाँ व्यवसाय स्थापना भएको बताए । नेपालभरका १६ कलेजसँग सहकार्य गरी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले युवाहरूलाई उद्यमशीलता र व्यवसायिक ज्ञान हासिल गर्न यस्ता कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

    कार्यक्रममा काठमाडौं मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले शैक्षिक संस्था, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यले युवालाई आत्मनिर्भर र सीपयुक्त बनाउने अभियानलाई प्रभावकारी बनाएको बताए । काठमाडौं मोडल कलेज, काठमाडौं महानगरपालिका, एलजी र सीजीबीचको सहकार्य व्यावहारिक सीप विकासको साझा प्रयास भएको उनको भनाइ थियो ।

    उनले कक्षाकोठाभन्दा बाहिरको सिकाइ पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी र युवाहरूलाई प्रेरणा दिने बताए । तालिम प्राप्त व्यक्तिहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने वा विभिन्न प्रतिष्ठित संस्था, अस्पताल, होटल तथा उद्योगहरूमा रोजगारी प्राप्त गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

    वक्ताहरूले सीप विकासलाई केवल तालिममा सीमित नभई आत्मविश्वास, सकारात्मक सोच, निरन्तर सिकाइ र उद्यमशीलताको आधारका रूपमा लिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले यस्ता कार्यक्रमले युवाहरूलाई रोजगारमुखी बनाउनुका साथै देशको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे । ‘एलजी सीप शिक्षा’ कार्यक्रममार्फत युवाहरूलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी सक्षम, आत्मनिर्भर र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

  • छुटाउनुभयो कि? सबै