• TOKHA LIVE

      TOKHA LIVE

    • १८ श्रावण २०८३, सोमबार १५:४४

    माइतीघरको डुबान समस्या सुल्झाउन छुट्टाछुट्टै ढल प्रणाली बनाइने : कार्यवाहक प्रमुख डङ्गोल

    काठमाडौं । राजधानीको माइतीघर मण्डला क्षेत्रमा वर्षेनी दोहोरिँदै आएको डुबान समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले ढल र वर्षाको पानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गर्ने भएको छ।

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले हाल ढल र आकाशे पानी एउटै प्रणालीबाट बग्ने भएकाले सामान्यभन्दा बढी वर्षा हुँदा निकास प्रणालीले भार धान्न नसकेको बताउनुभएको छ। दीर्घकालीन समाधानका लागि वर्षाको पानी र घरेलु ढल व्यवस्थापनका लागि छुट्टाछुट्टै प्रणाली विकास गर्ने योजना अघि सारिएको उहाँको भनाइ छ।

    सिंहदरबार, सर्वोच्च अदालत तथा विभिन्न मन्त्रालय जाने मुख्य सडकमै सामान्य वर्षामा समेत पानी जम्ने समस्या देखिएपछि महानगरले स्थायी समाधानका लागि योजना बनाएको हो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक अध्ययनले माइतीघर डुबानको प्रमुख कारण प्राकृतिक पानी निकास क्षेत्रको विनाश, अव्यवस्थित सहरीकरण, साँघुरा ढल पाइप तथा टुकुचा खोलाको ‘ब्याकवाटर इफेक्ट’ रहेको औँल्याएको छ।

    अध्ययनअनुसार वर्षाको पानी र घरेलु फोहोरपानी एउटै पाइपमा मिसिँदा ढल प्रणालीमा अत्यधिक चाप पर्ने र म्यानहोलबाट पानी बाहिर निस्कने समस्या देखिएको छ।

    डुबान समाधानका लागि महानगरपालिका, सडक डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच समन्वय भइरहेको छ।

    योजनाअन्तर्गत पुराना तथा साँघुरा ढल पाइप स्तरोन्नति गर्ने, वर्षाको पानी र ढलको प्रणाली छुट्याउने, ठूला भवनमा रेन वाटर हार्भेस्टिङ अनिवार्य गर्ने तथा खोलाको पानी उल्टो ढलमा पस्न नदिन चेक भल्भ जडान गर्ने तयारी गरिएको छ।

    प्राधिकरणका अनुसार माइतीघरजस्ता संवेदनशील क्षेत्रमा अस्थायी मर्मतभन्दा दीर्घकालीन संरचनागत सुधार आवश्यक रहेकाले चरणबद्ध रूपमा काम अघि बढाइनेछ।

    Facebook Comments

    सम्बन्धित खवर

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

  • छुटाउनुभयो कि? सबै