काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले बढी हो।
सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए। वर्षातको मौसम भए पनि पर्यटक आगमनमा सामान्य वृद्धि देखिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।
जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट मात्रै २३ हजार ४९० जना पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन कुल पर्यटक आगमनको ३२.७३ प्रतिशत हो।
यस अवधिमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। चीनबाट जुलाई २०२६ मा ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० जनाको तुलनामा ६१.०९ प्रतिशतले बढी हो। चिनियाँ पर्यटक आगमन सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा समेत ८.६५ प्रतिशत माथि पुगेको छ।
पर्यटक आगमनका हिसाबले अमेरिका तेस्रो स्थानमा रहेको छ। जुलाईमा अमेरिकाबाट ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन्। यस्तै, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। जुलाईमा सार्क राष्ट्रबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। यद्यपि यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ११.९३ प्रतिशत कम हो।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या भने बढेको छ। जुलाईमा यस क्षेत्रबाट १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको सोही अवधिमा १३ हजार ५२ जना पर्यटक आएका थिए। यस आधारमा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको छ।
अन्य एसियाली मुलुकमध्ये चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४ र सिंगापुर तथा म्यानमारबाट समान ४३७ जना पर्यटक नेपाल आएका छन्।
युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन्। युरोपेली पर्यटक आगमनमा बेलायत अग्रस्थानमा रहेको छ। बेलायतबाट ३ हजार ७७३, जर्मनीबाट ७२३, स्पेनबाट ६८१ र फ्रान्सबाट ६४४ जना पर्यटक आएका छन्।
यस्तै, अमेरिकी मुलुकबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
पर्यटन बोर्डको तथ्यांकले पछिल्लो समय चिनियाँसहित एसियाली बजारबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको देखाएको छ। यसले नेपालको पर्यटन क्षेत्रमा नयाँ बजार विस्तारको सम्भावना बढाएको पर्यटन व्यवसायीहरूले बताएका छन्।

