काठमाडौं । सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोखा नगरपालिकाले साउन र भदौ महिनाभर हप्तामा ६ दिन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
महालेखा नियन्त्रक कार्यालयको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा देखिएको ढिलासुस्तीका कारण राजस्व संकलन तथा अन्य प्रशासनिक काममा समस्या भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।
नगरपालिकाका अनुसार आइतबार सार्वजनिक बिदाको दिन पनि नगरपालिका कार्यालय र सबै वडा कार्यालयबाट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिनेछ। यस्तै, सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।
सूत्र प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै टोखा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कानुनी टोलीले महालेखा नियन्त्रक कार्यालयमा पुगेर समस्या समाधानका लागि पहल गरेका छन्।
नगर प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा गएको टोलीले महालेखा नियन्त्रक कार्यालयका सह–महालेखा नियन्त्रक यमुना प्रधानलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्र बुझाउने टोलीमा नगर प्रमुख अधिकारीसँगै प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, वडा नं. ९ का अध्यक्ष राभक्त घिमिरे, वडा नं. ११ का अध्यक्ष घनश्याम खड्का, वडा नं. ८ का अध्यक्ष रमेश खत्री, वडा नं. ११ का वडा सदस्य महेश थपलिया तथा नगरपालिकाका कानुनी सल्लाहकारहरूको टोली सहभागी थियो।
नगरपालिकाले बुझाएको ज्ञापनपत्रमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) बाट नियमित बजेट सञ्चालन, आयोजना भुक्तानी र दैनिक राजस्व संकलनका काम हुँदै आएको उल्लेख गरिएको छ।
तर चालु आर्थिक वर्ष सुरु भएयता सूत्र प्रणालीमा अत्यधिक ढिलासुस्ती हुने, प्रणालीले काम नगर्ने तथा प्रविष्ट गरिएका विवरण समयमै सेभ र प्रमाणित नहुने समस्या पटक–पटक देखिएको नगरपालिकाले जनाएको छ।
प्राविधिक समस्याका कारण राजस्व संकलनमा कठिनाइ भएको र सेवाग्राहीबाट व्यापक गुनासो तथा असन्तुष्टि बढेको भन्दै नगरपालिकाले प्रणालीलाई प्रभावकारी र छिटो सञ्चालन गर्न महालेखा नियन्त्रक कार्यालयसँग आग्रह गरेको छ।

