काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ।
विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्पर्कविहीन हुनेमा पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जा रहेका छन्।
सम्पर्कविहीन आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र आवश्यक विशेष उपकरणसहितका हेलिकोप्टर उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा परिचालन गरिएको हो।
ब्रोड पिकमा गएको हिमपहिरोपछि पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको हो। त्यसयता टोलीसँग सम्पर्क हुन सकेको छैन।
टोलीमा नेपालीसहित एक अमेरिकी, एक चिनियाँ र एक ओमानी आरोही रहेको जनाइएको छ।
नेपालका सांसद मिङ्मा ग्याबु शेर्पाले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिँदै नेपालबाट पनि उद्धार टोली पठाउने तयारी भइरहेको बताएका छन्। “हामी निरन्तर अपडेट लिइरहेका छौं। थप जानकारी आएको छैन। नेपालबाट पनि हेलिकोप्टर लिएर त्यता जाने तयारी गरिरहेका छौं,” उनले भने।

