काठमाडौं । आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंको माइतीघर मण्डलामा निरन्तर आन्दोलनमा छन्। खुला आकाशमुनि पाल र छाताको सहारामा दिनरात बिताउँदै आएका उनीहरूले आफूहरू आर्थिक, सामाजिक र मानसिक रूपमा ठूलो समस्यामा परेको गुनासो गरेका छन्।
लघुवित्त संस्थाबाट लिएको ऋण, चर्को ब्याजदर, किस्ता तिर्ने दबाब तथा असुली प्रक्रियामा आफूहरूमाथि अन्याय भएको भन्दै पीडितहरूले लामो समयदेखि आवाज उठाउँदै आएका छन्। उनीहरूका अनुसार ऋण तिर्न नसक्ने अवस्थाका कारण धेरै परिवार आर्थिक संकटमा परेका छन् भने सामाजिक र मानसिक तनावसमेत बढेको छ।
आन्दोलनरत पीडितहरूले आफूहरूको समस्या समाधानका लागि सरकारसँग ठोस पहल गर्न माग गरेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्य पक्षबाट प्रभावकारी कदम नचालिएको उनीहरूको आरोप छ। उनीहरूले लघुवित्त क्षेत्रको नियमन, ऋण तथा ब्याजसम्बन्धी समस्या समाधान र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।
माइतीघरको धर्नास्थलमा पालमुनि बसेका पीडितहरूले आफूहरूको संघर्ष केवल आर्थिक राहतका लागि नभई सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि भएको बताएका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।

