काठमाडौँ, २९ वैशाख । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखसुनि ता डङ्गोलले काठमाडौँ महानगरपालिकाका वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ताभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ ।
महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया पुगेका फाइल तत्काल स्वीकृत गर्न र नमिलेका फाइल कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिँदै ‘शून्य फाइल नीति’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयनमा गुणस्तर कायम गर्न नसकिने अवस्था भए त्यस्ता योजना अघि नबढाउन वडा सचिवहरूलाई समेत निर्देशन दिनुभयो । उहाँले बेरुजु शून्य बनाउन, राजस्व सङ्कलन प्रभावकारी बनाउन, सार्वजनिक जग्गा अतिक्रमण हटाएर सम्पत्तिको अभिलेखीकरण गर्न तथा पूर्वाधार निर्माणको गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले रातको समयमा सडकबत्ती ननिभ्ने व्यवस्था मिलाउन, भू–प्रशासनलाई चुस्त बनाउन तथा वडामै महानगरको मुहार देखिने भएकाले सबै जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।
वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार हालसम्म महानगरको कुल खर्च प्रतिशत ४० दशमलव ९४ र वडाहरूको औसत खर्च ३९ दशमलव ३ प्रतिशत पुगेको छ । सबैभन्दा बढी खर्च गर्ने वडाले ५७ दशमलव १७ प्रतिशत प्रगति गरेको छ भने सबैभन्दा कम खर्च गर्ने वडाको खर्च १३ दशमलव २१ प्रतिशत मात्रै रहेको जानकारी दिइयो ।
महानगरले वडाहरूलाई ठूला, मझौला र साना गरी तीन वर्गमा विभाजन गरेर बजेट विनियोजन गर्दै आएको छ । ठूला वडालाई १० करोड, मझौला वडालाई सात करोड ५० लाख र साना वडालाई पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको महानगरले जनाएको छ ।