• TOKHA LIVE

    • १३ बैशाख २०८३, आईतवार १८:१२

    अतिक्रमणविरुद्ध महानगरको कडा कदम : काठमाडौँका तीन बस्ती हटाइए

    काठमाडौँ, १३ वैशाखः काठमाडौँ महानगरपालिकाले अतिक्रमणविरुद्धको अभियानलाई तीव्र बनाउँदै शनिबार राजधानीका तीन स्थानमा रहेका बस्ती खाली गराएको छ।

    महानगरपालिका–११ थापाथलीस्थित वाग्मती नदी किनार, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती हटाइएका हुन्।

    सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरेर भत्काइएको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार थापाथली क्षेत्रमा स्थायी संरचना कम भएकाले काम छिटो सम्पन्न भयो भने गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घर धेरै भएकाले काम रातिसम्म लम्बिएको थियो।

    संरचना हटाउनुअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोलीले दिनभरि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न सहयोग गरेको थियो। त्यसपछि मात्र डोजर प्रयोग गरिएको थियो।

    यद्यपि, भत्काइएका घरका सामग्री अझै स्थलमै छरिएर रहेकाले स्थानीयलाई आवागमनमा कठिनाइ भएको छ। महानगरले ती सामग्री हटाएर क्षेत्र सफा गर्ने काम क्रमशः अघि बढाइने जनाएको छ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार विभिन्न अतिक्रमित क्षेत्रमा ठूलो सङ्ख्यामा सुकुमवासी परिवार बस्दै आएका थिए। तथ्याङ्कअनुसार थापाथलीमा १४३, गैरीगाउँमा १६२, गोठाटारमा ७७, शान्तिनगरमा ४७६ र मनोहरा क्षेत्रमा १३ परिवार गरी कुल ८७१ परिवार प्रभावित भएका छन्।

    सरकारले सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन, सहरी सौन्दर्यीकरण र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यो अभियान अघि बढाएको जनाएको छ। तर, बस्ती हटाइएपछि प्रभावित परिवारको पुनःस्थापनाबारे चासो र बहस पनि बढ्न थालेको छ।

    यसैबीच, थापाथली, गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा कुनै झडप नभए पनि भक्तपुरको मनोहरा खोला किनारमा भने स्थानीयको विरोध भएको थियो। विरोधका क्रममा ढुङ्गा, इँटा र बोतल प्रहार हुँदा २२ सुरक्षाकर्मी घाइते भएका छन्।

    घाइते हुनेमा मध्यपुरथिमि प्रहरी वृत्तका डीएसपी नवराज ढुङ्गानासहित ११ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ११ जना सदस्य रहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै