• TOKHA LIVE

    • १२ बैशाख २०८३, शनिबार ०९:१२

    अवैध संरचना हटाउने क्रममा मानवीय व्यवहार अपनाइने : डंगोल

    काठमाडौं वैशाख १२:
    काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने क्रममा सम्मानजनक र मानवीय व्यवहार अपनाइने बताएकी छन्।

    सामाजिक सञ्जालमार्फत उनले महानगरले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी, सामुदायिक तथा निजी स्वामित्वका जग्गाको संरक्षण गर्दा मानव अधिकारका न्यूनतम मूल्य र मान्यतालाई आत्मसात् गर्दै काम गरिरहेको उल्लेख गरेकी हुन्।

    उनले लेखेकी छन्, “सार्वजनिक तथा अन्य स्वामित्वका जग्गा संरक्षण गर्ने क्रममा मानव अधिकारका आधारभूत मूल्य र मान्यतालाई ध्यानमा राख्दै कार्य सम्पादन हुँदै आएको छ।”

    उनका अनुसार नेपाल सरकारको हालैको निर्णय तथा सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको अनुरोधअनुसार महानगर क्षेत्रभित्रका नदी किनार र अन्य सार्वजनिक स्थानको संरक्षणका लागि अनधिकृत संरचना हटाउने कार्यमा महानगरले सहयोगी भूमिका निर्वाह गर्नेछ।

    डंगोलले यस्तो कार्यका क्रममा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने स्पष्ट पारेकी छन्। सकेसम्म विवादरहित, सुरक्षित र कानुनसम्मत ढंगले व्यवस्थापन गर्ने प्रयास रहने उनको भनाइ छ।

    यस कार्यमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला निकाय, जनप्रतिनिधि तथा सर्वसाधारण सबैमा उनले अनुरोधसमेत गरेकी छन्।

    Facebook Comments

    सम्बन्धित खवर

    नेपालले युएईलाई दियो २०१ रनको चुनौती

    लागुऔषधसहित पाँच जना पक्राउ

    थापाथलीमा डोजरको गर्जन

    छुटाउनुभयो कि? सबै