काठमाडौँ वैशाख १२ : काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ। नेपाल सरकारले बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्ती हटाउन यो कदम चालेको हो।
हाल दुईवटा डोजर प्रयोग गरिएको छ। बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरी संयुक्त रूपमा परिचालन भएका छन्।
क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित झडप वा तनावलाई ध्यानमा राख्दै बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
सरकारले बस्ती हटाउने प्रक्रिया अघि बढाएसँगै स्थानीयवासीमा असन्तुष्टि र तनाव बढेको देखिएको छ। यसअघि सम्बन्धित निकायले बस्ती खाली गर्न आग्रह गर्दै नमाने कानुनी कारबाही गरिने चेतावनी दिएको थियो।
तर स्थानीयले भने सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान नगरी जबर्जस्ती हटाउन खोजिएको आरोप लगाएका छन्।

