काठमाडौँ, भदौ २७ – पछिल्लो समय Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा प्राण गुमाएका नेपाली नागरिकप्रति टोखा नगरपालिकाले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै घाइते परिवारजनप्रति संवेदना प्रकट गर्दै स्वास्थ्य लाभको कामना पनि गरेको छ।
टोखा नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै तोडफोड, आगजनी र अराजक गतिविधिबाट प्रभावित भवन तथा संरचनाहरूलाई सफा गर्ने काम स्थानीयवासीको सक्रियतामा भइरहेको जनाएको छ। नगरपालिकाले यस्तो कठिन घडीमा आपसी सद्भाव, धैर्य र सहयोगी भावनाले अघि बढ्न सर्वसाधारणसँग आग्रह गरेको छ।
नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षरित सूचनामा भनिएको छ, “टोखामा रहेका सबै नागरिक, संघ–संस्था र युवा–युवतीहरूले यो परिस्थितिलाई शान्तिपूर्ण ढंगले सामना गर्दै नगरको स्वच्छ वातावरण, सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुर्याउनु पर्छ।”
यस क्रममा आवश्यक आपतकालीन सेवा, सुरक्षा तथा सहजीकरणका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी निरन्तर खटिएको नगरपालिकाले जानकारी दिएको छ। आकस्मिक अवस्था वा सहयोग आवश्यक परेमा तत्कालै तोखा नगर प्रहरी प्रभाग, नेपाली सेनाको हेल्पलाइन वा नगरपालिकाको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
टोखा नगरपालिका परिवारले कठिन परिस्थिति छिट्टै सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गर्दै शान्ति, सुरक्षासहित एकताबद्ध भएर अघि बढ्न सबै नगरवासीलाई अपिल गरेको छ।


