• TOKHA LIVE

      TOKHA LIVE

    • ५ भाद्र २०८२, बिहीबार २१:२०

    राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमको मन्त्री पौडेलले गरे शुभारम्भ

    बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन स्वर्णप्राशन: मन्त्री प्रदीप पौडेलले गरे शुभारम्भ

    धनगढी, कैलाली भाद्र ५ / स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए।

    प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई विज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको जिकिर थियो। “स्वर्ण बिन्दु प्राशन हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा रहेको ज्ञान हो। यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौँ भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने हाम्रो अभियानमा यसले सहयोग पुर्र्याउने छ। अर्कोतर्फ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको आजको प्राथमिकता हो। त्यसैले हाम्रा बालबालिकालाई शारीरिक र बौद्धिक रूपमा अब्बल बनाउन स्वास्थ्य मन्त्रालयले निरन्तर कार्य गर्नेछ। आगामी पुस्ता निरोगी पुस्ता तयार पार्ने हाम्रो लक्ष्य अनुरुप प्रवर्द्धनात्मक र निरोधात्मक स्वास्थ्य प्रणालीको विकासका लागि आयुर्वेद क्षेत्रसँग जोडिएका यस्ता कार्यक्रमलाई देशैभरका प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।” उनको भनाई थियो।

    यस अघि पनि मन्त्री प्रदीप पौडेलले आयुर्वेद क्षेत्रको विकास, आधुनिकीकरण र राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकरणका लागि महत्वपूर्ण कदमहरू अघि बढाउंदै आएका छन्।


    आयुर्वेद क्षेत्रलाई दिशानिर्देश गर्ने राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति २०८१-२०९१ स्वीकृत, आयुर्वेदिक औषधि उत्पादनमा आत्मनिर्भर हुन सिंहदरबार वैद्यखानाको पुनर्संरचना थाल्दै यसको दिगोपनाका लागि “प्रथम पञ्चवर्षीय रणनीतिक योजना (२०८२-२०८७)” सार्वजनिक, स्वदेशी औषधीको उत्पादन र गुणस्तर बढाएर निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले औषधीको कुशल उत्पादन अभ्यास संहिता को दोस्रो संशोधन जारी, पूर्वाधारतर्फ; बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र मार्फत विशिष्टिकृत सेवा सञ्चालन, आयुर्वेद औषधी नियमावली र आयुर्वेदमा नयाँ जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य सेवा नियमावली संशोधन जस्ता कार्य अघि बढाएका छन् ।
    मन्त्री पौडेलको अग्रसरतामा आयुर्वेद र परम्परागत चिकित्सालाई वैज्ञानिक विधि र पद्धति अनुरूप अनुसन्धान गरी राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने नीतिलाई अघि सारेको मन्त्रालयले जनाएको छ।

    के हो स्वर्ण बिन्दु प्राशन?

    आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार स्वर्ण बिन्दु प्राशन करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ काश्यप संहिता मा वर्णन गरिएको एक परम्परागत विधि हो। यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन्। यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ। त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ। शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्व हो जसले संक्रमणबाट बचाउँछ। यी तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा प्रभाव पार्दछ। “यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो। स्वर्ण भष्मको इम्युनोमोडुलेटर गुण, ब्राह्मीको न्युरो-प्रोटेक्टिभ क्षमता र महको प्राकृतिक एन्टी-माइक्रोबियल गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगेका छन्। विभागले यसको सुरक्षित र सही कार्यान्वयनका लागि देशभरका आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई तालिम दिई एकरूपता कायम गर्नेछ।” उनले भने

    यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल, आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलले स्वर्ण बिन्दु प्राशन को वैज्ञानिक पक्षहरु रहेको बताउछन्। “आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा स्वर्ण बिन्दु प्राशन एक अत्यन्तै परिष्कृत नानो-मेडिसिन र न्युरो-इम्युनोमोडुलेटर फर्मुलेसन हो। यसमा प्रयोग हुने स्वर्ण भस्म सामान्य सुन होइन; यो विशेष प्रशोधन विधिबाट तयार पारिएको सुनको नानो कण हो जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित गर्ने क्षमता राख्दछ। ब्राह्मी र शंखपुष्पी जस्ता मेध्य रसायन जडीबुटीहरूमा पाइने नूट्रोपिक्स, एड्याप्टोजेन्स जस्ता सक्रिय तत्त्वहरूले स्नायु कोषहरूको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढावा दिन्छ। तसर्थ, यो केवल परम्परा मात्र होइन; यो बालबालिकाको प्रतिरक्षा प्रणाली र स्नायु प्रणालीलाई सबल बनाउने एक वैज्ञानिक रूपले अर्थपूर्ण सिनर्जिस्टिक संयोजन हो।”

    अन्तर्राष्ट्रिय अभ्यास र बढ्दो स्वीकार्यता
    परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने अभ्यास विश्वव्यापी रूपमा बढ्दो छ। विश्व स्वास्थ्य संगठन (WHO) ले आफ्नो ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०१४-२०२३ मार्फत सदस्य राष्ट्रहरूलाई प्रमाणमा आधारित परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न प्रोत्साहित गर्दै आएको छ।
    भारतमा स्वर्णप्राशन संस्कार लाई राष्ट्रिय आयुर्वेद अभियान अन्तर्गत बाल स्वास्थ्यको एक महत्वपूर्ण अंगको रूपमा वर्षौंदेखि सञ्चालन गरिँदै आएको छ। त्यहाँका विभिन्न राज्य सरकारहरूले यसलाई सरकारी स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क उपलब्ध गराउँदै आएका छन्। त्यसैगरी, चिन, जर्मनी, अष्ट्रेलिया जस्ता विकसित देशहरूमा समेत आयुर्वेदिक र परम्परागत चिकित्सा पद्धतिहरूलाई पूरक स्वास्थ्य सेवाको रूपमा स्वीकार्यता बढ्दो छ र यसमाथि विभिन्न वैज्ञानिक अनुसन्धानहरू गरिरहेका छन्।

    राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई देशव्यापी रूपमा व्यवस्थित, सुरक्षित र एकरूपताका साथ सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२ समेत स्वीकृत गरि सकेको छ। यस निर्देशिकाले स्वर्ण बिन्दु प्राशनको मिश्रण तयार पार्ने विधि, मात्रा, गुणस्तर, भण्डारण, खुवाउने प्रक्रिया र स्वास्थ्यकर्मीको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरेको आयुर्वेद विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताए।
    नेपालमा सुरु भएको यो राष्ट्रिय कार्यक्रमले परम्परागत चिकित्सा पद्धतिलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्न र नागरिकलाई एलोपेथिकका साथै वैकल्पिक उपचार विधिहरूमा पहुँच विस्तार गर्ने सरकारको नीतिलाई थप सहयोग पुऱ्याउने मन्त्रालयको विश्वास रहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै