• TOKHA LIVE

      TOKHA LIVE

    • १२ आश्विन २०८३, सोमबार १७:४५

    मुटुरोग भनेको के हो ? यसको लक्षण, कारण र बच्ने उपायहरु 

     

    -डा. मिलनप्रकाश श्रेष्ठ
    मुटुरोग विशेषज्ञ
    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौँ
    मानव शरीरको अति संवेदनशील तथा महत्वपूर्ण अङ्ग मुटुमा देखिने विभिन्न किसिमका स्वास्थ्य समस्यालाई मुटुरोग भनिन्छ । प्रत्येक वर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउँदै आइएको छ । विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो । शहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिने गरेका छन् । मुटु रोगका कारण वर्षेनी विश्वभर एक करोड ५० लाखभन्दा बढीले अकालमा ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ । मुटुमा रहने भल्भ, मांसपेशी तथा बाहिरी पातलो तह पेरीकार्डियम लगायतका भागहरूमा आउने खराबीका कारण मुटु रोग निम्तने गर्छ ।  मुटुमा समस्या आएमा शरीरले विभिन्न किसिमका लक्षणहरू देखाउने गर्छ ।
    मुटु रोगका प्रमुख लक्षण
    – हिँड्दा वा सामान्य काम गर्दा सास फेर्न गाह्रो हुने ।
    – छाती दुख्ने तथा भारी हुने ।
    – मुटुको ढुकढुकी अस्वाभाविक रूपमा बढ्ने ।
    – चक्कर लाग्ने र अचानक बेहोस हुने  ।
    – शरीर तथा खुट्टाहरू सुन्निने
    नेपालमा मुटु रोगका विभिन्न कारणहरू रहेका छन्, जसलाई मुख्य गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।
    १. जन्मजात मुटु रोग
    गर्भावस्थामा आमाको सन्तुलित खानपान तथा पोषणको कमी, गर्भावस्थामा आमामा हुने विभिन्न प्रकारका सङ्क्रमण र चिकित्सकको सल्लाहबिना हानिकारक औषधिको सेवनका कारण नवजात शिशुमा जन्मजात मुटुरोग देखिन सक्छ ।
    २. बाथरोगजन्य मुटुरोग
    विशेषगरी सरसफाइ र स्वच्छ वातावरणको कमी तथा खानपानमा ध्यान नदिनाले बाथरोग गराउने किटाणुले मुटुको भल्भमा आक्रमण गर्छ । यो समस्या बालबालिकाहरूमा बढी मात्रामा देखिने गर्छ ।
    ३. मुटुको नशा ब्लक हुने समस्या
    उच्च रक्तचाप (प्रेशर), मधुमेह (सुगर), रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु, धुम्रपान तथा मद्यपानको सेवन, मोटोपना, शारीरिक व्यायामको कमी र अत्याधिक मानसिक तनावका कारण मुटुको नशा साँगुरिने वा ब्लक हुने गर्छ । समयमै उपचार नभएमा यसले हृदयघात समेत गराउन सक्छ ।
    मुटु रोगबाट बच्ने र नियन्त्रण गर्ने उपाय
    मुटुलाई स्वस्थ राख्न र यससम्बन्धी रोगहरूबाट बच्नका लागि खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्दछ ।
    सन्तुलित खानपानः धेरै चिल्लो, बोसोयुक्त र रातो मासुको सेवन कम गर्ने तथा हरियो सागपात र ताजा फलफूलको सेवन बढाउने ।
    नियमित व्यायामः शरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन दैनिक रूपमा शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुने ।
    तनाव व्यवस्थापनः अत्याधिक मानसिक तनावबाट टाढा रहने र दैनिक कम्तीमा ७ देखि ८ घण्टाको पर्याप्त निद्रा पु¥याउने ।
    नियमित स्वास्थ्य जाँचः आफ्नो रक्तचाप, सुगर र कोलेस्ट्रोलको मात्रा समय–समयमा परीक्षण गरी नियन्त्रणमा राख्ने ।
    (डा मिलनप्रकाश श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।)
    Facebook Comments

  • छुटाउनुभयो कि? सबै