• TOKHA LIVE

      TOKHA LIVE

    • १२ आश्विन २०८३, सोमबार १७:२९

    नेपाली कांग्रेस क्षेत्र नम्बर ५ को अधिवेशन सम्पन्न, राजु खड्का क्षेत्रीय सभापतिमा निर्वाचित

    नविना श्रेष्ठ
    असोज १२, २०८३

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहपछि क्षेत्रीय, प्रदेश सभा ‘क’ र ‘ख’ तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन सम्पन्न भएको हो।

    लोकतन्त्र, राष्ट्रियता, समाजवाद र समावेशी विकासका मूल आदर्शलाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने संकल्पसहित अधिवेशन सम्पन्न गरिएको जनाइएको छ। बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको होटल अनुप्रस्थमा मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन गरिएको थियो।

    राजु खड्का क्षेत्रीय सभापतिमा निर्वाचित

    क्षेत्रीय सभापतिका लागि ओमकृष्ण बिमली, दीपकराज जोशी, राजु खड्का र राजेन्द्र महर्जनले उम्मेदवारी दिएका थिए। निर्वाचनबाट राजु खड्का २३२ मत प्राप्त गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।

    क्षेत्रीय सचिव पदमा दीपक भट्ट १९८ मतसहित विजयी भएका छन्।

    विभिन्न समावेशी समूहबाट प्रतिनिधि निर्वाचित

    समानुपातिक आदिवासी जनजातितर्फबाट बुद्धिलाल श्रेष्ठले १३८, रमेश जोशीले १४७ र युथ महर्जनले १२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। महिलातर्फ तारादेवी लामाले २४९ र पञ्चकुमारी श्रेष्ठले २६६ मत प्राप्त गरी विजयी भएका छन्।

    खस–आर्य खुलातर्फ उद्धव खत्री (बद्री) १८१, महेश्वर केसी १४९ र दामोदर अर्याल ११० मतसहित निर्वाचित भएका छन्। खस–आर्य महिलातर्फ रमिला वाग्ले खड्काले १४३ र सरिता केसीले १३५ मत प्राप्त गरी विजयी भएका छन्।

    प्रदेश सभाका सभापति निर्विरोध

    क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश सभा ‘क’को सभापतिमा सरोज पौडेल र प्रदेश सभा ‘ख’को सभापतिमा रविन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

    त्यसैगरी ३५ वर्षमुनिका युवातर्फ रजनी थापा, कृष्ण डंगोल र सुभाष घिमिरे निर्वाचित भएका छन्। पेशागत विषय विज्ञतर्फ जनकराज श्रेष्ठ, अपाङ्गतातर्फ रविन्द्र खत्री, द्वन्द्व प्रभाविततर्फ ठाकुरप्रसाद पुडासैनी र दलिततर्फ मेनुका भुसाल निर्वाचित भएका छन्।

    अधिवेशनमा विभिन्न समुदाय, वर्ग, क्षेत्र र उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको आयोजकले जनाएको छ। निर्वाचन प्रक्रिया शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्र नम्बर ५ को अधिवेशनले पार्टी संगठनलाई थप व्यवस्थित, समावेशी र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै