टाेखालाइभ डट कम/ २३ फागुन २०७९
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले आज आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उहाँले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट नागरिकता नपाएको विषयलाई आफूले गम्भीररूपमा लिएको बताउनुभयो । साइबर अपराधका उजुरी काठमाडौँमा मात्र दर्ता हुँदा समस्या आएको गुनासा धेरै जिल्लाबाट आएको उल्लेख गर्दै उहाँले गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सहजताको व्यवस्था गराउन लागिपर्ने बताउनुभयो । प्रविधिको प्रयोगले महिला नै बढी पीडित भएका घटना आएकाले यसमा सजगता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । महिला हिंसाका घटनामा महिला द¥हो भए कसैको केही नचल्ने अनुभव सुनाउँदै उपाध्यक्ष अर्यालले महिलाबाट पुरुषलाई पनि हिंसा भएका घटना आउन थालेकाले कसैप्रति पनि हिंसा नहुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । आठ मार्चका अवसरमा बुधबार विश्वभर ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ ।

