• TOKHA LIVE

    • २२ फाल्गुन २०७९, सोमबार ०९:५६

    उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै

    टाेखालाइभ डट कम/२२ फागुन २०७९

    काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

    फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभएको छ ।

    आज बिहानैदेखि पर्यटकीय गन्तव्य बसन्तपुरमा पनि स्वतस्फूर्त रुपमा होली मनाइँदै छ । विशेष गरेर बसन्तपुर र ठमेलमा विदेशी पर्यटकहरु होलीको रंगमा रमाइरहेका देखिएको छ । यस पर्वका अवसरमा आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाउँछन् । जसलाई होलीका दहन भनिन्छ । चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताका साथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ।

     

     

     

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै