• TOKHA LIVE

    • ६ फाल्गुन २०७९, शनिबार ०६:४८

     महोत्सवमा लाखे नाच प्रतियोगिता

    टोखालाइभ डट कम/फाल्गुण ,२०७

    नुवाकोटः चन्द्रसूर्य अंकित नेपाली झण्डा फहराएर एक युवा भीड छिचोल्दै अगाडि बढ्छन् । ‘लोक संस्कृतिको जगेर्ना गर्नु स्थानीय पहिचान हो’ भन्ने नारासहित बट्टार लाखे समूह लेखिएको ब्यानर बोकेका दुई युवती ती युवकको पछिपछि लाग्छन् । लाइनबद्ध रहेका एक जोडी मुकुटधारी लाखे र एक जोक्करले नमस्कार गरिरहेका छन् भने नेवारी पहिरनमा रहेका केही युवतीले नाङ्लो र डालीमा सगुन तथा युवाहरुले ढोलक, झुर्मालगायत बाजा बोकेका छन् । समूहमा रहेका सबैजनाले भीडलाई परिक्रमा गरी एक छेउमा बस्छन् । युवतीहरुले भने सबैलाई विधिवत् रुपमा पूजा गरेर सगुन खुवाउँछन् । त्यसपश्चात् ढोलक झुर्मालगायत बाजा बज्न थालेपछि लाखे र जोक्कर आफ्नो नृत्य प्रस्तुत गर्न थाल्छन् । यो दृश्य हो विदुर नगरपालिका–५ स्थित पीपलटारमा सञ्चालन भइरहेको सातौं नुवाकोट महोत्सवको एक झलक । नेवार समुदायको पहिचानसँग जोडिएको लाखे नाच प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको सातौं दिन (बिहीबार) लाखे नाच प्रतियोगिता सञ्चालन गरिएको थियो । ‘विशेष गरी नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म नेवारी समुदायले आ–आफ्नो स्थानमा लाखे नाच प्रदर्शन गर्ने प्रचलन छ ।

    यस नाचलाई फराकिलो बनाउँदै संवद्र्धन र प्रवद्र्धनका लागि महोत्सवमा प्रतियोगिता गराएका हौँ’, महोत्सव आयोजक संस्था नुवाकोट उद्योग वाणिज्य सङ्घकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले भनिन्, ‘ठाउँअनुसार लाखे नाच फरकफरक शैलीको हुन्छ । बिस्तारै योे नाच लोप हुने अवस्थामा पुग्ने चिन्ता पनि छ । लाखे नाचप्रति आकर्षण बढाउन र प्रोत्साहन गर्न यस्ता मेला महोत्सवले सहयोग गर्छ भन्ने अपेक्षा गरेकी छु ।’ प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकको समूह सहभागी भए पनि सोचेअनुसार यो नाच पुस्तान्तरण हुन नसकेको वेलकोटगढी नगरपालिका–१० का सुन्दरलाल मानन्धरको गुनासो थियो । पाका उमेरकाले नै उक्त स्थानमा लाखे नाच बचाइराखेको उनको भनाइ थियो । ‘लाखे नाच हाम्रो ठाउँमा युवामाझ पुग्न सकिरहेको छैन ।

    पढाइ र कमाइका लागि युवाहरु गाउँबाहिर रहेकाले समस्या आएको हो । हामी बूढापाका नै यसको संरक्षणमा जुटिरहेका छौँ’, त्रिपन्न वर्षीय मानन्धरले भने, ‘भत्ता लिइराख्नुभएका दाइको लाखे नाच जोगाउने जुन जोस छ, त्यसमा हामी पनि सामेल भएर जिल्लामा हुने महोत्सवमा सहभागी भइरहेका छौँ । यसले हामीलाई थप हौसला प्रदान गरेको छ ।’ नेवार समुदायसँग जोडिएको लाखे नाच पछिल्लो समय सबै समुदायको साझा संस्कृतिको रुपमा समेत विकास हुन थालेको छ । प्रतियोगितामा सहभागीमध्ये विदुर लाखे नाच समूहमा आबद्ध सबै गैरनेवार समुदायका बालबालिकाहरु थिए । प्रतियोगितामा बट्टार लाखे समूह प्रथम, पीपलटार लाखे समूह कोलोनी द्वितीय, वेलकोटगढी लाखे समूह तृतीय भएका थिए भने विदुर लाखे समूह र शिवालय टोल लाखे समूह सान्त्वना भएको लाखे नाच प्रतियोगिता उपसमितिका संयोजक एवं नुवाकोट उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । प्रथमलाई रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार र सान्त्वनालाई पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । -रासस

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै