• TOKHA LIVE

    • ४ फाल्गुन २०७९, बिहीबार २१:३१

    ललितकलाको विकासका लागि चारवर्षे दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्छु : कुलपति हार्तम्छाली

    टोखालाइभ डट कम/फाल्गुण  ४ , २०७९

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ललितकलाको विकास तथा संवर्द्धनका लागि चारवर्षे दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्ने भएको छ ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा कुलपतिको शपथग्रहणपछि नक्सालस्थित प्रतिष्ठान कार्यालयमा आयोजित उपकुलपति, सदस्यसचिव तथा प्राज्ञ परिषद् सदस्य र प्राज्ञसभा सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै कुलपति हार्तम्छालीले कुनै पनि पूर्वाग्रह नराखी ललितकलाको विकासमा तल्लीन भएर लाग्नेसमेत प्रतिबद्धता जनाउनुभयो ।प्रतिष्ठानका पूर्वकुलपति, ललितकलाका विज्ञ तथा कलाकारहरूसँगको छलफलको निष्कर्षका आधारमा गुरुयोजना बनाई अघि बढ्ने प्रतिष्ठानका नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो । नवनियुक्त कुलपति हार्तम्छालीले सबै पक्षलाई समेटेर प्रतिष्ठानलाई अघि बढाउने पनि बताउनुभयो । उक्त अवसरमा उहाँले समन्वयात्मक रूपमा काम गर्ने वाचा पनि गर्नुभएको छ ।

    उहाँले आजै नवनियुक्त उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’सहित प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महत्तो, सञ्जय बान्तवा र अरुणा हिङमाङलाई शपथ गाउनुभएको थियो । सो क्रममा २४ जना प्राज्ञसभा सदस्यलाई पनि शपथ गराइएको थियो । शपथसँगै उहाँहरूको चारवर्षे कार्यकाल पनि आजैदेखि प्रारम्भ भएको छ । गत पुस १५ गतेदेखि प्रतिष्ठानका कुलपति, उपकुलपति तथा परिषद् सदस्यलगायतको कार्यावधि सकिएर प्रतिष्ठान नेतृत्वविहीन भएकामा ४७ दिनपछि नेतृत्व पाएको हो । आजै नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति, उपकुलपति, सदस्यसचिवलगायतले शपथ लिनुभएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै