• TOKHA LIVE

    • २७ असार २०७९, सोमबार १९:५१

    बयासी वर्षको उमेरमा जोन्छेको कविता संग्रह “ स्मृतिका बाछिटा “ सार्वजनिक

    टोखा लाइभ ।२०७९ असार २७ गते सोमवार ।

    हालै नेपाली साहित्यको भण्डारमा “ स्मृतिका बाछिटा “ नामक कविता संग्रहले प्रवेश पाएको छ । बयासी वर्षिय कवि राजेन्द्र भक्त जोन्छेले आफ्नो जीवनकालको भोगाइ, कल्पना र भावनालाई निकै तालमेलसंग जोडेर यस संग्रह तयार गर्नुभएको हो । सरल शब्द तर गहन भाव र विम्व बोकेको यस संग्रहमा कतिपय कवितालाई विविध विषयका प्रतीक रुपमा र केहि कवितालाई वास्तविक सामाजिक परिवेशको यथार्थलार्ई छुने गरी व्यक्त र चित्रण गर्न कवि जोन्छे सफल भएको मान्नुपर्छ ।
    सन्देशमूलक एवं केहि कारुणिक विषयवस्तुहरुमा आधारित कविताहरु पनि समेटिएको “ स्मृतिका बाछिटा “ उहाँले आफ्ना आदरणिय पिता महन्तलाल जोन्छे प्रति समर्पित गर्नु भएको छ ।

    आमाको याद, वर्षा ऋतुको वर्णन, शक्ति जननीको प्रशंसा, देश लुटेरा भ्रष्टहरुलाई नग्न पार्नका लागि एक सुन्दरी अवतारको आब्हान, “तिमी म “ शिर्षकमा दुई आत्माको मिलनको प्रस्तुति, जीवन अनमोल छ, भन्ने लगायतका विभिन्न विषयमा सुन्दर शैलिले लेखिएका कविताहरु यस संग्रहमा समावेश गरिएका छन् ।

    पक्कै पनि कवि जोन्छेलाई यसमा संग्रहित कूल १ सय ३० वटा कविता कोर्न धेरै समय लागेको हुनुपर्छ । वि.सं. १९९६ मा भक्तपुरको मंगलाछे ( दुमलाचा ) मा जन्मनु भएका कवि जोन्छे समय र परिस्थिति अनुसार आफ्नै घरायसी कारणले लामो समय राजविराजमा बस्नुपरेको उहाँकै अनुभव वृत्तान्तमा उल्लेखित छ । उहाँले आफुलाई प्रारम्भिक शिक्षा प्रदान गर्नुहुने उहाँका गुरु तथा साहित्यकार एवं कवि श्री तिलक प्रकाश कायष्ठ र कविता प्रकाशनका लागि संधै घच्घच्याउने देखि अन्य आवश्यक सहयोग प्रदान गरिदिनु हुने समालोचक, साहित्यकार तथा कविवर अगिव बनेपाली तथा कम्प्युटर टाइप र लेआउट डिजाइन गर्नुहुने सुमा श्रेष्ठलाई पनि धन्यवाद दिनुभएको छ ।

    रु. दुई सय मूल्य राखिएको यस कविता संग्रहका प्रकाशक राज रोशन जोन्छे हुनुुहन्छ । साहित्यप्रेमी लगायत सामान्य पाठकहरुलाई समेत यो संग्रह रुचिकर र पठनीय देखिन्छ । कविवर जोन्छेबाट भविष्यमा पनि यस्ता सुन्दर, अमूल्य र गहन साहित्यिक कृतिहरुको अपेक्षा गर्ने अब पाठकहरुको हकै बन्न सक्ने पनि देखिन्छ । यसको आवरणमा छापिएके कलात्मक सांस्कृतिक शहर भक्तपुरको दृश्य लोभलाग्दो छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै