टोखा लाइभ ।२०७८ चैत २ गते ।
काठमाडौ । राणाकाल देखि नै गुणस्तरीय शिक्षा दिंदै उत्कृष्ठ नतिजा हासिल गर्दै आएको काठमाडौंको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयले मंगलवार हीरक जयन्ती भव्यताका साथ मनायो ।

वि स २००३ सालमा स्थापना भएको यस विद्यालय सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ठ मध्ये पर्छ । हीरक जयन्ती समारोहमा प्रमुख अतिथिका रुपमा वोल्दै माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक, अभिवाक र सरकारको संयुक्त पहलमा मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिने उल्लेख गर्दै सरकारले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार, शिक्षिक गुणस्तर र शिक्षा सम्वन्धी कानूनी सुधारमा केन्द्रित भै शिक्षा क्षेत्रको सुधारका लागि ५५ वुँदे कार्यक्रम अगाडि ल्याएको जानकारी दिनुभयो । सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिवद्द रहेको वताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न बनाउने तर्फ सरकार अगाडि बढेको पनि जानकारी दिनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको प्रसंशा गर्दै उहाँले विद्यालयसँग आगामि दिनमा पनि निरन्तर सम्पर्कमा रहेर गुणस्तरीय शिक्षाका लागि अगाडि बढ्ने प्रतिवद्द्ता पनि जनाउनु भयो । उहाँले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताउनु भयो ।

उक्त अवसरमा बोल्दै काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा विद्यालयका प्राचार्य हेरम्बराज कंडेलले विद्यालयले गुणस्तरिय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताको बारेमा चर्चा गर्दै विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि सरकारको तर्फबाट थप सहयोगको अपेक्षा गर्नुभयो ।

१० लाखको अक्षयकोष स्थापनाः
हीरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्य ज्योती तथा मिरा ज्योती’ नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रुपमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले रु। १० लाखको अक्षयकोषको स्थापना गरेको सौरभ ज्योतीले घोषणा गरेका हुन् ।
आफ्ना बुबाआमाको नाममा हीरक महोत्सवका अवसरमा ज्योतीले सार्वजनिक रुपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका छन् ।

सरकारबाट नमुना विद्यालय समेत घोषित उक्त विद्यालयले २०७४ र २०७५ मा राष्ट्रिय शिक्षा पुरस्कारका साथै विभिन्न क्षेत्रिय पुरस्कारहरु समेत प्राप्त गरेको छ भने विद्यालयले सामुदायिक विद्यालय तर्फ देशभरमै उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ ।
दिर्घ सेवा पदक ः
सोहि कार्यक्रममा तीस र पच्चिस वर्ष देखि निरन्तर सेवा गरिआउनु भएका शिक्षक तथा कर्मचारीहरुलाई स्वर्ण पदक , प्रमाण पत्र , दोसल्ला तथा अन्य धातुको कलात्मक उपहार सहित सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा प्रधानाध्यापक हेरम्बराज कंडेल लगायत तीन सहायक प्रधानाध्यापक क्रमशः गंगा थापा , ओमशंकर श्रेष्ठ र केदार दाहाल समेत रहनु भएको थियो । सोही कार्यक्रममा शैक्षिक तथा अन्य अतिरिक्त क्रिया्रकलापमा उत्कृष्ट स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितका अध्यक्ष गोेपाल श्रेष्ठ लगायतका विशिष्टि व्यक्तित्वहरुले सम्मानित गर्नुभएको थियो । समारोहमा बिद्यार्थीहरुद्वारा नेपाली मौलिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।



