• TOKHA LIVE

    • ११ माघ २०७८, मंगलवार ११:२४

    ११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए

    टोखा लाइभ २०७८ माघ ११ गते ।

    रोयटर्स । लगातार ११ घण्टा उडेको एक जहाजको पांग्रामा एक जिवित व्यक्ति भेटिएपछि विश्वभर अहिले यसको चर्चा भइरहेको छ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको हो । सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ।

    बीबीसीका अनुसार दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ। लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ। आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ।

    प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ। विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ। डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

    कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्। आइतवार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ। तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै