टोखा लाइभ।२०७८ पुष २८ गते
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौंको साँखुमा लाग्ने सालीनदी मेलाको तयारी पूरा भएको छ ।
यस वर्षको माधवनारायण मेलाका लागि साँखुस्थित सालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनु भयो ।
माघ ३ गतेदेखि १ महिनासम्म चल्ने सालीनदी मेलाका लागि सुरक्षा, स्वास्थ्य, यातायातलगायतको बन्दोबस्त गरिएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए । नेपाल संवतको ८ औं सताब्दी देखि शुरू भएको सॉखु शालिनदीको माधवनारायण मेला ओमिक्रोन कोरोनाको कारण यस वर्ष पनि प्रभावित हुने भएको छ ।


मिजेन्द्रकाजी भन्छन- “ यस वर्ष कोभिड १९को ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गईरहेको अवस्थालाई मध्यनजर राखेर भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको व्रत नित्य पुजा विधि एवं धार्मिक रिति पुर्याएर सीमित व्रतालु मात्र राखिने छ । यसैगरी भक्तजन र व्रतालुहरुबीच कम्तीमा २ मीटरको दूरी कायम हुने गरी व्यवस्था गरिने छ ।
हामीले यस वर्ष सालीनदी मेलामा आउने दर्शनार्थीहरुलाई स्नान गर्न छुटै पोखरी बनाएका छौं, ‘ उनले अघि भने, ‘पहिला यातायातको पनि गुनासो आउने गथ्र्यो । त्यो समस्या समाधान गर्नको लागि यातायात व्यवसायीहरु संग कुरा गरिसकेका छौं।”व्रतालुहरु बिरामी हुँदा स्टेचरको व्यवस्था लगायत स्वयमसेवकहरुको व्यवस्था गरिएको समितिले जनाएको छ । शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेरा राखी सालीनदि गएर नुहाइरहेकाहरु, बिशेषत :महिलाहरुको भिडियो खिच्नेहरूको अनुगमन पनि गरिने भएको छ ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै सालिनदी – (नाःदि खुसि / नारि खुसि ) मा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
ओमिक्रोनका कारण यस वर्ष पूजा गर्ने कि नगर्ने अन्योल भए पनि स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार बढी भिड नगरी ब्रत बस्न दिएको श्री माधवनारायण ब्रत व्यबस्थापन समितिले जानकारी दिए।

