टाेखालाइभ डट कम/ भाद्र ३०,२०७८,
धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण धरोहर मानिने काठमाडौको उत्तरी भेगमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी मेला अहिले भक्तजनहरुको ठुलो मेल लागिएको छ।कोरोना अघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो ।
कोरोना जोखिम कायमै रहेकाले गत वर्ष र यो वर्ष पनि मेला नगरी पूजा आराधना गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन् । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले नगरपालिकाले सार्वजनिक सुचना जारि गरि मेला नलाग्ने जानकारी गराइए पनि कागेश्वरी महादेव मन्दिर पुग्ने भक्तजनको भने ठुलैभीड लागेको छ। मेलामा काठमाडौं भक्तपुर , ललितपुर , किर्तिपुर, साँखु , टाेखा लगायतका ठाँउबाट आन्तरिक धार्मिक पर्यटकहरुको कागेश्वरी महादेव मन्दिरमा भक्तजन दर्शनार्थीहरुको ओइरो लागेको स्थानीय ब्यापारीले टाेखालाइभ डट कमलाई बताए ।
सधै झै कागेश्वरी महादेव मन्दिरमा प्रत्येक बर्ष भाद्र शुक्ल अष्ट्मीको दिनमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने जनविश्वास रहि आएको छ । यसैले वर्षदिन सम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नै पर्ने मान्यता राख्छन् ।

कागेश्वरी मन्दिरमा हरियो मकै चढाएको खण्डमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक किवंदन्ती र जनविश्वास रहेको यहाँका स्थानीय बताउँछन् । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल (सिलुतिर्थ)गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज भाद्र शुक्ल अष्ट्मीको दिनमा कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको पाइन्छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई त्यसदिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।
ऐतिहासिक कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख कृष्णहरि थापाका अनुसार कागको मूर्ति स्थापनापछि धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गरिने, कागको ठूलो मूर्ति स्थापनापछि गोकर्णेश्वर महादेव, राष्ट्रिय शहीद स्मारक, तारेभीर, सुन्दरीजल, सुन्दरीमाई, कागेश्वरी, नवतनधाम, मणिचुड, बज्रयोगिनी, ऐतिहासिक नगर साँखु र सालिनदी क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने उहाँको भनाइ रहेको छ । कागेश्वरी हुदैँ गोसाईकुण्ठ र हिमाली क्षेत्रसम्म जानका लागि पदमार्गको रुपमा विकास गरी त्यस क्षेत्रमा रोजगार प्रर्वद्धन तथा आर्थिक उत्पादनका वृद्धि गराउने नगरपालिकाको लक्ष्य रहेको उहाँको भनाई छ ।
कागेश्वरीको धार्मिक महत्व र किम्बदन्ती यस्तो छ।
कागेश्वरीको धार्मिक महत्त्व श्री स्वस्थानीमा उल्लेख भए अनुसार सत्यदेविको अगं पतन भएपछि यस स्थानमा काग आई दूध चढाउने भन्ने भनाई रहेको छ । त्यस स्थानका किसानलाई कागले कहाँ बाट दूध लिएर चढाउछ भनेर अचम्म मान्दै हेर्दा सोही स्थानमा ज्योर्ति लिङ्ग भेटिएको किंवदंती छ । त्यस दिनदेखि सोही स्थानमा शक्ति रहेको थाहा पाएपछि पूजाआराधना गर्ने चलन चलेको बुझन् आएको छ । परापूर्वकालमा पार्वती मृगस्थलिबाट महादेव त्यस स्थानमा लुकेपछि पार्वतीले महादेवलाई खोज्दै आउने क्रममा त्यहा मृगको रुपमा आईपुगेको र त्यही समयमा कागले पुनः तपस्या गरिरहेको देखिएपछि कागलाई उनले अमरत्वको बरदान दिएको किम्बदन्ति रहेको छ । हरेक मानिस गोसाइँकुण्ड जाने तिर्थालुले जल ल्याई चढाउने चलन रहेको छ। धामी विद्या सिक्नेहरु कागेश्वरी आउने चलन रहेको छ।
काग तिहारमाः
काग तिहारको दिन आई पूजा आराधना गरेमा कागको स्पर्शजन्य दोषबाट मुक्ति मिल्ने, मकै लगायत अन्नबाली चढाएमा बारीमा पसेर कागले नखाने लगायत जनविश्वास रहेको छ ।

