टाेखालाइभ डट कम/श्रावण २६,२०७८
काठमाडौं– कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ प्रकाशित गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार उक्त कृतिको विमोचन गर्नुभयो ।

कृतिको विमोचनका क्रमा कुलपति कर्माचार्यले भन्नुभयो, ‘कलाकारका सिर्जनालाई दस्तावेजका रूपमा संग्रह गर्न प्रतिष्ठानले पुस्तक प्रकाशन गर्दै आएको छ ।
कुलपति कर्माचार्यले भने–‘कलाकारका सिर्जनालाई दस्तावेजका रुपमा सग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै तथा पुस्तक प्रकाशन गर्दै आएको छ । आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ ।’ उहाँले नेपाली कला र कलाकारलाई देशविदेशमा चिनाउनका लागि पनि कलालेखन, समीक्षा तथा कला पत्रकारिताको महत्व विशिष्ट रहेको विचार व्यक्त गर्नुभयो ।

उनले राजनीति, साहित्य लगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको बताए ।उनले कला लेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई वर्षेनी प्रतिष्ठानले सम्मान गर्दै आइरहेको बताउदै नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउनका लागि पनि कला लेखन, समीक्षा तथा कला पत्रकारिताको महत्व विशिष्ट रहेको उहाँको भनाइ थियो ।
विमोचन कार्यक्रममा प्रतिष्ठानका सदस्य-सचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सक्यो त्यो कला क्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे ।उहाँले प्रतिष्ठानले कलालेखन तथा अनुसन्धानका कामलाई महत्व दिएको बताउनुभयो । सदस्य-सचिव घिमिरेले लेखकलाई कलाकारको जीवनी लेखेर प्रकाशनमा ल्याएकोमा बधाई तथा शुभकामना दिँदै अन्य कलाकारका बारेमा समेत निरन्तर लेखिरहन समेत कला लेखकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए ।उनले प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकारका बारेमा अझ खोज र अनुसन्धान गराई लुकेर रहेका प्रतिभाशाली कलाकारको दस्तावेजीकरणसागै योगदानको उचित मूल्यांकन गर्नुपर्नेमा उहाँले जोड दिए। ‘पुस्तकमा लेखकले जीवनी लेखनमा नौलो प्रयोग गरेका छन् । समष्टिमा पुस्तक नेपाली थांङका र पौभा कलाकारको दस्तावेजको शुरुवात भएको र शृंखलाबद्ध रुपमा अन्य कलाकारको जीवनी लेख्न र प्रकाशन गर्न लेखक र प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा काम गर्नुपर्दछ । तब मात्र नेपाली परम्परागत कलाको विकासमा योगदान हुने समाजका अध्यक्ष खनालले बताए।
समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला इतिहासलाई व्यवस्थित ढंगले लेख्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रामाणिकरूपमा नेपालमा १ हजार वर्षभन्दा पुरानो चित्रकलाको परम्परा रहेको जनाउँदै कलाको सही र व्यवस्थित ढंगले दस्तावेजीकरण नहुँदा सयौं अज्ञात कलाकारको योगदानलाई सम्झन नसकिएको बताउनुभयो । उक्त कृतिमा २०१४ साल र २०३६ सालबीचमा जन्मिएका कलाकारलाई लेखकले राम्रै मिहिनेतका साथ चित्रण गरेको विचार व्यक्त गर्नुभयो । समालोचक अधिकारीले भन्नुभयो, ‘अबको काम भनेको अग्रज र युवापुस्तामा कलाको योगदान र संघर्षलाई एकेडेमीले अझ बढी समावेश गराउँदै जानुपर्दछ ।’ उहाँले अझ परम्परागत र लोककला सिर्जना गर्ने कलाकारको बढीभन्दा बढी खोजी हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका परम्परागत तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङले नेपाली परम्परागत कलाकारका बारेमा कमैमात्र अनुसन्धान र खोज भइरहेको जिकिर गर्दै यसको विकास, प्रसार प्रसार, प्रवद्र्धन तथा संवद्र्धनमा प्रतिष्ठानले काम गर्दै आएको बताए ।
उनले नेपाली परम्परागत कलाको व्यापक प्रचार प्रसारका लागि प्रतिष्ठानले देशैभरि विभिन्न कार्यशाला र प्रदर्शनीको आयोजना गर्दै आएको धारणा राखे ।
प्राज्ञ गुरुङले आगामी दिनमा परम्परागत कलाक्षेत्रका मूर्धन्य कलाकारलाई खोजेर उनीहरुको योगदानलाई प्रकाशनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
पुस्तक लेखनका क्रममा कोरोना महामारीका कारण निकै कठिनाइको सामना गर्नुपरेको सुनाउँदै पुस्तकका लेखक थुम्केलीले आगामी दिनमा छुटेका र प्रतिभाशाली कलाकारलाई बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो ।१७२ पृष्ठको उक्त पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ ।मूल्य तीन सय रहेको उक्त पुस्तकमा कलाकारको जीवनीसँगै कलाकारका रंगीन चित्रसमेत समावेश गरिएको छ ।
कलाकार मानबहादुर दोङ, वाङ्छु मोक्तान लामा ‘आरके’, लालमान लामा, निमा लामा, भीमबहादुर लामा, होमबहादुर लामा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, फूर्नाम्गेल मोक्तान, झिग्मे तामाङ ‘मुगुम झिग्मे’, अशोक लामा र पाल्साङ्मो लामाको जीवनी, कलागत प्रवृत्ति तथा कृतित्वको चर्चा गरिएको छ ।

