यहाँ चिल्ला सफा चौडा सडक छन्
तर हिंड्ने र गुड्ने सबै अपरिचित
घर घरका कोठा कोठामा पानी आउँछ
तर पानीको स्वादमा मेरो हिमाल छैन
समुद्रि तटमा सुन्दर दृश्य र घाम छन्
तर टाउकोमा तेल हाल्ने आमा छैन
सुन्दर दृश्य साट्ने नेपाली मन छैन ।
सुरक्षाको त के कुरा भो र !
फोन गर्नुभन्दा भन्दा पहिल्यै
प्रहरी पुगेझैं लाग्छ जहिल्यै
तर मध्यरातमा स्वदेशी गल्लीहरुमा
एक्लै एक्लै हिंड्दा
पुच्छर हल्लाउँदै पछ्याउँदै साथ दिने
भुस्याहा कुकुरहरुको याद बढि आउँछ
डिस्को र क्लब त पाइलै पिच्छे छन्
तर कानमा मादल र धिमे गुन्जिरहन्छन्
डलर , पाउन्ड र युरो देखि अघाइसकें
नगरिकता फेरिँदाको खुशी
स्वदेसमै पर्यटक बन्नुपर्दा चिसिन्छ
भिडियो कन्फरेन्समै कहिलेकाहिं
छुटेका आफन्त र परिवारसंग गफिइन्छ
तर यो मेरो भ्रम हो की शंका खै !
या भौगोलिक रुपमै टाढिएरै हो की
तिनका अनुहारमा म प्रतिको
पुरानो भरोसा र अपनत्व हराएझैं लाग्छ !
सामाजिक बहिष्कृत जस्तै भान हुन्छ
लाखौ खर्च गरेर दोश्रो दर्जाको नागरिक
बन्ने भिडमा म नराम्ररी हराएछुं
त्यहि पैसा स्वदेशको बाँझा फाँटमा रोपेको भए
मातृभुमिलाई अलि विश्वास गरेको भए
बुढेशकालमा आफन्तको अनुहार हेर्न
यो विदेशी झ्यालबाट
बाहिर हिम आकृतिहरुलाई मैले
परिवार र साथीहरु उभिरहेको कल्पना गर्दै
अस्ताउँदै गरेको रक्ताम्य घाम हेर्दै
बिहान स्वदेशमा मन्दिरको घन्टा सुनेर
मुस्कुराउँदै विउँझिएको सपना देख्दिनथें ।
जीवनकालको आप्रवासी मोहको पश्चाताप
गर्ने ठाउँ र उपाय समेत रहेनन्
विदेशमै जन्मेका सन्ततिलाई
पुर्खाको देश फर्किन, भन्न मनलाग्छ
तर तिनीहरु पनि मेरो नर्सिंग होमबाट
धेरै धेरै टाढा छन्, मुटु भित्र छापिएको
मेरो देश जस्तै धेरै धेरै टाढा !!!
• ओमशंकर श्रेष्ठ

