विश्व कविता दिवसको सन्दर्भमा
• डा. किस्मत भण्डारी
गाउँका पाखा-पखेरामा ऊ भविष्य खोज्छ
वन जङ्गल, पहराहरुमा स्वदेश नियाल्छ ।
दलदले पहिरो बनेर खसि रहेको भेट्छ
धमिलो हिलो बाढीसगै बगिरहेको देख्छ ।
अनि फेरि स्वदेश खोज्दै ऊ शहर पस्छ
जुत्ता फटाउँदैं कामको खोजीमा हिंडछ ।
मरिहत्ते गर्दा पनि ऊ कतै भेटदैन गास
जताततै भोक प्यास व्यापक त्रासै त्रास ।
कम्मर पेटी कसेर निस्कन्छ जागिर खोज्न
भेटछ चारैतिर मात्र नारा जुलुस र भाषण ।
फोहोरका डङ्गुरमा ठोकिन्छ भेटदैन काम
भेटछ केवल झुट्टा आश्वासन नेताका नाम।
भेटिएन गाँस र बाँस अनि मेटिएन प्यास
मरेछ झिनो आशा र हुन पुग्छ निराश ।
अन्योलग्रस्त मन उसको सोच पलायनको
टिकट लिन ऊ बस्छ लाममा पासपोर्टको ।

