• TOKHA LIVE

    • २२ फाल्गुन २०७७, शनिबार १०:३४

    मूर्दा शहर : एक प्रेम कहानी

    प्रथा ॐकार/ शनिबार, फाल्गुन २२

    काभ्राका मसिना पिप्ला टिपेर
    घर फर्किदै गर्दा
    भुसुनी जरूवामा पानी पिएपछि
    तिमीले भनेकी थियौ
    जरूवा रसाएर
    प्यासीहरूको प्यास मेट्दोरहेछ !
    भन्नु न स्यानदाजु
    यो ह्रदय रसाएमा के हुन्छ होला ?

    थाहै पो भएनछ
    समयको अदृश्य चक्रभित्र
    कति चाँडै घुमिसकेछ— जिन्दगीको रोटेपिङ ?
    तिम्रो यौवनको निकुञ्जबाट
    खोई कतिखेर
    सर्लक्कै सरिसकेछ— गुलावको बोट
    र वनमाराझैँ फैलिरहेछ
    प्रेमको फूल बनेर— यो मनको भूगोलभरि !

    आफ्नै सिर्जनाको विन्दावनमा
    डढेलो सल्किएर
    रहरै-रहरका बुलबुल तालहरू
    एकाएक सुक्न थालेपछि
    तिम्रा सम्झनाहरू
    त्यही गाउँको एकान्तमा छोडेर
    म सुटुक्क पसेको हुँ— यो सपनाको शहरभित्र !
    यस्तो लाग्छ
    यतिखेर म कुनै वैकुण्ठ सयरमा छु
    सायद,
    यतै कतै छ होला
    मैले टिप्न खोजेको तिम्रो मुस्कानको जून पनि !

    खिएका चक्र देखाएर
    प्रमाण दिनेहरूको कथा एउटा छ
    सत्ताको मलम दलेर
    हजुरी थाप्नेहरूको कथा अर्को छ
    र आँखामा रतन्धो टाँसेर
    न्यायको तराजु जोख्नेहरूको कथा झन चर्को छ !
    कसै-कसैको नाम छ
    त कसै-कसैको गुमनाम पनि छ !
    हो जालपा,
    शहरमा त विचित्रै पो हुँदोरहेछ !
    तरबारको लिङ्गो ठडिएपछि
    उज्यालो मेटाएर
    कालीदासहरूले अँध्यारो इतिहास लेख्दारहेछन् !

    म देखिरहेछु
    अविश्वासले खाएर
    भत्किसकेका छन्— विश्वासका पुलहरू !
    स्वार्थले गलेर
    ओइलाइसकेका छन्— संवेदनाका फूलहरू !
    आतङ्क हिनहिँनाएर
    आफैँसँग भयभीत छ— बुढो सिँहदरबार !
    वासनाको धुन भरेर
    साँझमा सारङ्गी रेटिरहन्छ— तन्नेरी रत्नपार्क !
    शंकाको कुहिरो मडारिएर
    यो बेला मलाई त खर्लप्पै निलेको छ
    किन पो होला
    ऊ रातैभरि रूई न फुई भएर सुत्ने गर्छ ?

    यो मूर्दा शहरमा,
    बिक्रीमा छ— आमाको ममता !
    बिक्रीमा छ— देशको भूगोल !
    बिक्रीमा छ— न्यायको ढकपल्ला !
    बिक्रीमा छ— प्रेयसीको प्रेम !
    बिक्रीमा छ— गुरूको शिक्षा !
    र बिक्रीमा छ— आफ्नै विश्वास पनि !
    यो बिक्रीको टेलरभित्र
    कतै म पनि,
    तिम्रो मायाको लिलामी नगरौं !
    यतिखेर,
    यो मन औधि डराएको छ, मेरी जालपा !

    यहाँ त हरेक दिन
    एउटा हुल
    आफ्नै आँसुले अनुहार धोएर
    एक टुक्रा रोटीको खोजिमा निस्किदोरहेछ !
    र अर्को हुल
    अत्तरको सुगन्धले नुहाएर
    सम्राटको शालिकमा फूलमाला पहिराउँदोरहेछ !
    मेरी प्रियसी !
    शरीरभरि माटोको रङ बोकेर
    म खोजिरहेछु
    तिम्रा वैंसालु खुसीका इन्द्रेणी रङहरू !
    थाहा छैन मलाई,
    यो शहरले प्रेम गर्न सिकाउँछ कि घृणा ?

    यहाँ त,
    सबै-सबै चिजहरू छन् !
    जस्तो कि:
    फराकिला सडकहरू छन्
    दरबारहरू छन्
    दु:खका गहिरा कुवाहरू छन्
    मन्दिरहरू छन्
    छलकपटका शतरञ्जाहरू छन्
    पशु-पंक्षीहरू भेटिन्छन्
    तर कस्तो अचम्म !
    सिङ्गो शहरभरि
    अहँ, मान्छे चाहिँ कहिँ कतै भेटिँदैनन् !

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै