• प्रथा ॐकार/ शनिबार, फाल्गुन २२
काभ्राका मसिना पिप्ला टिपेर
घर फर्किदै गर्दा
भुसुनी जरूवामा पानी पिएपछि
तिमीले भनेकी थियौ
जरूवा रसाएर
प्यासीहरूको प्यास मेट्दोरहेछ !
भन्नु न स्यानदाजु
यो ह्रदय रसाएमा के हुन्छ होला ?
थाहै पो भएनछ
समयको अदृश्य चक्रभित्र
कति चाँडै घुमिसकेछ— जिन्दगीको रोटेपिङ ?
तिम्रो यौवनको निकुञ्जबाट
खोई कतिखेर
सर्लक्कै सरिसकेछ— गुलावको बोट
र वनमाराझैँ फैलिरहेछ
प्रेमको फूल बनेर— यो मनको भूगोलभरि !
आफ्नै सिर्जनाको विन्दावनमा
डढेलो सल्किएर
रहरै-रहरका बुलबुल तालहरू
एकाएक सुक्न थालेपछि
तिम्रा सम्झनाहरू
त्यही गाउँको एकान्तमा छोडेर
म सुटुक्क पसेको हुँ— यो सपनाको शहरभित्र !
यस्तो लाग्छ
यतिखेर म कुनै वैकुण्ठ सयरमा छु
सायद,
यतै कतै छ होला
मैले टिप्न खोजेको तिम्रो मुस्कानको जून पनि !
खिएका चक्र देखाएर
प्रमाण दिनेहरूको कथा एउटा छ
सत्ताको मलम दलेर
हजुरी थाप्नेहरूको कथा अर्को छ
र आँखामा रतन्धो टाँसेर
न्यायको तराजु जोख्नेहरूको कथा झन चर्को छ !
कसै-कसैको नाम छ
त कसै-कसैको गुमनाम पनि छ !
हो जालपा,
शहरमा त विचित्रै पो हुँदोरहेछ !
तरबारको लिङ्गो ठडिएपछि
उज्यालो मेटाएर
कालीदासहरूले अँध्यारो इतिहास लेख्दारहेछन् !
म देखिरहेछु
अविश्वासले खाएर
भत्किसकेका छन्— विश्वासका पुलहरू !
स्वार्थले गलेर
ओइलाइसकेका छन्— संवेदनाका फूलहरू !
आतङ्क हिनहिँनाएर
आफैँसँग भयभीत छ— बुढो सिँहदरबार !
वासनाको धुन भरेर
साँझमा सारङ्गी रेटिरहन्छ— तन्नेरी रत्नपार्क !
शंकाको कुहिरो मडारिएर
यो बेला मलाई त खर्लप्पै निलेको छ
किन पो होला
ऊ रातैभरि रूई न फुई भएर सुत्ने गर्छ ?
यो मूर्दा शहरमा,
बिक्रीमा छ— आमाको ममता !
बिक्रीमा छ— देशको भूगोल !
बिक्रीमा छ— न्यायको ढकपल्ला !
बिक्रीमा छ— प्रेयसीको प्रेम !
बिक्रीमा छ— गुरूको शिक्षा !
र बिक्रीमा छ— आफ्नै विश्वास पनि !
यो बिक्रीको टेलरभित्र
कतै म पनि,
तिम्रो मायाको लिलामी नगरौं !
यतिखेर,
यो मन औधि डराएको छ, मेरी जालपा !
यहाँ त हरेक दिन
एउटा हुल
आफ्नै आँसुले अनुहार धोएर
एक टुक्रा रोटीको खोजिमा निस्किदोरहेछ !
र अर्को हुल
अत्तरको सुगन्धले नुहाएर
सम्राटको शालिकमा फूलमाला पहिराउँदोरहेछ !
मेरी प्रियसी !
शरीरभरि माटोको रङ बोकेर
म खोजिरहेछु
तिम्रा वैंसालु खुसीका इन्द्रेणी रङहरू !
थाहा छैन मलाई,
यो शहरले प्रेम गर्न सिकाउँछ कि घृणा ?
यहाँ त,
सबै-सबै चिजहरू छन् !
जस्तो कि:
फराकिला सडकहरू छन्
दरबारहरू छन्
दु:खका गहिरा कुवाहरू छन्
मन्दिरहरू छन्
छलकपटका शतरञ्जाहरू छन्
पशु-पंक्षीहरू भेटिन्छन्
तर कस्तो अचम्म !
सिङ्गो शहरभरि
अहँ, मान्छे चाहिँ कहिँ कतै भेटिँदैनन् !

