• TOKHA LIVE

    • २७ पुष २०७७, सोमबार ०८:०१

    युवराज विद्रोहीको अध्यक्षतामा पत्रकार मञ्चको नयाँ नेतृत्व चयन:-

    टाेखा लाइभ/ पुस २७ काठमाडौं :

    नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । पुस २५ र २६ गते भर्चुअल माध्यमबाट सम्पन्न महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको हो । आइतबार सीमित व्यक्तिहरुको भौतिक उपस्थितिमा निर्वाचन कार्यक्रम भएको थियो ।

    महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

     

    कार्यक्रमको उद्घाटन सत्रलाई संबोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताए । बिष्टले लोकतन्त्र बिना अभिव्यक्ति स्वतन्त्रता हनन् हुने र स्वतन्त्र पत्रकारितालाई समेत आघात पुग्ने बताए । उनले भने, ‘अहिले संविधानमाथि आक्रमण भएको अवस्था छ । जसले गर्दा लोकतन्त्र नै खतरामा पर्ने देखिएको छ । यसले पत्रकारितालाई समेत असर गर्ने देखिन्छ ।’

    पत्रकार सुरक्षा, वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा पत्रकार मञ्चले उल्लेख्य काम गरेको बताउँदै बिष्टले मञ्चका क्रियाकलापले नेपाली पत्रकारिताको उत्थानमा सहयोग पुगेको बताए । ‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेशागत सुरक्षामा सदैब अग्रपङ्तिमा रहनेछ भन्ने महासंघको विश्वास छ’ बिष्टले भने । मञ्चलाई पत्रकारका पेसागत सुरक्षालाई उठाउन समेत बिष्टले सुझाव दिए ।

    मञ्चका अध्यक्ष विद्रोहीले कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल पत्रकार मञ्चले आयोजना गरिएको भर्च्यूअल महाधिवेशनमा मञ्चका सदस्यहरु काठमाडौं बाहिर पनि रहेका र विदेशमा भएका सम्पर्क समितिहरुले समेत सहभागिता जनाउन इच्छा जनाएकाले सो प्रणालीबाट महाअधिवेशनको कार्यक्रम अघि बढाइएको बताए।कार्यक्रमको दोश्रो सत्रमा महासचिव विमल थापाले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला नेपालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । ती प्रतिवेदनहरु सर्वसम्मतिबाट स्वीकृत भएका थिए । महासचिव थापाकाअनुसार मञ्चमा हाल २ सय जना सदस्यहरु रहेका र जसमध्ये काठमाडौंबाहिर करिब ५० जना र देशबाहिर करिव २५ जना सदस्यहरु रहेका छन् । यसैगरी, संयुक्त राज्य अमेरिका, कोरिया, क्यानाडालगायत देशमा मञ्चका सम्पर्क समिति छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै