• TOKHA LIVE

    • २० पुष २०७७, सोमबार १०:५४

    नेपाली क्यारिकेचर २०७७ को भर्चुअल प्रदर्शनी जारी :-:-

    टाेखा लाइभ / पुस २०,२०७७

    काठमाडौं नक्साल स्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट नेपालको सामाजिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वका क्यारिकेचरको १० दिने भर्चुअल प्रदर्शनी शुक्रबार देखि सुरु भएको छ । अनलाइन ग्यालरी नेपाल डटकममार्फत गरिएको ‘नेपाली क्यारिकेचर ०७७ कार्यशाला, प्रतियोगिता तथा प्रदर्शनी’ को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।

     

     

    उक्त प्रतियोगितात्मक प्रदर्शनीमा सुवोध पोखरेलले नायक बिपिनकार्कीको क्यारिकेचर बनाएर प्रथम भएको थियो भने , विश्व थापाले कलाकार दयाहाङ्ग राइको
    क्यारिकेचर बनाएर द्वितीय र प्रकाश थापा‘प्रथा’ले नेपाली आविष्कार महावीर पुनको क्यारिकेचर बनाएर तृतीय भएका थिए । उनीहरुले क्रमशः १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेका हुन् ।

     

    १०दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन गर्दै ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति केके कर्माचायले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मककला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना गरेको २०७७ सालको क्यारिकेचर, कार्यशाला , प्रतियोगीता एवं प्रदर्शनीमा सहभागीहरुलाई बधाई दिदै नेपालमा क्यारिकेचर कार्टुनकला दिन प्रतिदिन लोकप्रिय हुँदै गइरहेको विचार व्यक्त गर्नुभयो । उनले भने, ‘विशेषगरी शिक्षण संस्थाको पठनपाठनमा समावेश भएदेखि कार्टुनकलाले फस्टाउने अवसर पाएको छ । क्यारिकेचर कार्टुनकलाले पत्रकारितासँग आबद्धता हुने अवसर पनि पाएको छ ।’उनले पत्रपत्रिकामा कार्टुनको खुबै प्रयोग हुने बताउँदै भने, ‘समसामयिक घटनालाई कार्टुनिस्टले सचेतनामूलक कार्टुन बनाएर पत्रिकामा पस्किएका हुन्छन् । ती कार्टुनहरू चाख मानेर पढ्ने गरिन्छ ।’ कुलपति कर्माचार्यले कसैको चरित्रहत्या गर्ने खालका कार्टुन किमार्थ स्विकार्य नहुने जिकिर गर्दै क्यारिकेचर पनि हेर्न लायकको हुनुपर्ने बताए । उनले थपे, ‘भद्धा हेर्दैखेरि घृणा हुने खालका क्यारिकेचर स्विकार्नु हुँदैन ।’ सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले कार्टुनकलाले समाजलाई सचेत बनाउनुका साथै विकृति विसंगतिका विरुद्ध प्रहार गर्ने विचार व्यक्त गरे ।

    कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष अविन श्रेष्ठले कलाका अनेकौं विधामध्ये क्यारिकेचर कला फरक र अनौठो विधा भएको विचार व्यक्त गरे । उनले क्यारिकेचर कुनै एउटा अतिरञ्जित व्यक्तिचित्रमात्र नभइ कलाको गम्भिर र भावप्रधान विषय भएको बताए । उनले भने, ‘अतिरञ्जना गर्नुपर्दछ भन्दैमा जथाभावी अतिरञ्जना गर्दैमा क्यारिकेचर बन्दैन । क्यारिकेचर बनाउँदा अतिरञ्जना गर्ने ढंग नपुगेमा त्यो क्यारिकेचरले विकृत रुप पनि लिन सक्दछ । क्यारिकेचर भनेको अनुहारका कुनै एउटा भागलाई रोज्ने र त्यसलाई ठूलो बनाई चित्रांकन गर्ने मात्र होइन, एकजना दक्ष क्यारिकेचरिस्टले क्यारिकेचर बनाउँदा अनुहारको कुनै एउटा भागलाई मात्र अतिरञ्जना गरी अरु भागहरू जस्ताको तस्तै दुरुस्त कहिले पनि बनाउँदैन । क्यारिकेचर कलाले अनुहारका हरेक भागसँग सम्बन्ध राख्दछ ।’ कलाकारले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारमा आघात नपुगोस् भन्नेतर्फ पनि सचेत हुनुपर्ने बताउँदै थपे, ‘अतिरञ्जना गर्दा कसैको धार्मिक आस्था, कसैको शारीरिक दुर्बलता, कुनै जाती विशेषको जातिगत भावना जस्ता विषयको खिल्ली उडाएको जस्तो पनि देखिनु हुँदैन । क्यारिकेचर बनाउँदा कलाकार सधैँ यस्ता विषयमा सजग हुनु पर्दछ ।’
    उनले कोरोना महामारीले आक्रान्त भइरहेको हालको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट भएपनि’ नेपाली क्यारिकेचर २०७७ कार्यशाला, प्रदर्शनी र प्रतियोगिता ‘ लिएर आएको बताउदै – उनले यो कार्यक्रम केवल निरन्तरताको लागि मात्र नभई यस्ले क्यारिकेचर कलाको विकास र विस्तारमा पनि अवस्य नै थप योगदान पुग्ने बताए ।

     

     

    कार्टुनमा पनि क्यारिकेचर हुन्छ भन्ने देखाउन कार्टुनिस्ट क्लबले चार वर्षदेखि क्यारिकेचर प्रतियोगिता सञ्चालन गर्दे आएको छ । गैरराजनीतिक व्यक्तित्व र विषयलाई प्रतियोगिताको आधार बनाइएको भर्चुअल प्रदर्शनीमा देशभरबाट ४० जनाले बनाएका करिब चार दर्जन बढी क्यारिकेचर समावेश गरिएको प्रदर्शनीमा कार्टुनिस्टहरूले डिजिटल सिस्टम, वाटर कलर तथा पेन्सिल स्केच लगायत विविध माध्यमको प्रयोग गरेका छन् ।

    कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख रमेशनाथ खनालले कोरोनाका कारण यस पटकको ‘क्यारिकेचर कार्यशाला, प्रतियोगिता एवं प्रदर्शनी–०७७’ को आयोजना ढिलो गर्न पुगेको बताए । उनले गत वर्षभन्दा यस वर्ष परिष्कृत रुपमा धेरै क्यारिकेचर प्राप्त भएको जानकारी दिए । उनले भने, ‘यस पटक नवीन पुस्ताका कलाकार पनि सहभागी हुनु एक सुखद् पक्ष हो ।’

    उनले नेपालमा क्यारिकेचरको प्रचलन धेरैअघिदेखि भएको बताए । उनले भने, ‘खासगरी गाईजात्राको अवधिमा अघि–अघि गाइजात्रेहरू हिड्ने र उनीहरुले हाउभाऊ देखाउँदै कसैको नक्कल गर्दै मुख बिगार्दै अर्काथरी हिडेर अतिरञ्जना गर्दछन् । मलाई के लाग्छ भने त्यो एक क्यारिकेचर नै हो । फिजिकल प्रदर्शन झन् सजीव हुन्छ ।’

    प्राज्ञ खनालले खासगरी नेतामाथि व्यंग्य प्रहार गर्नु, उनीहरूको मुहार अतिरञ्जना गर्नु र जनता समक्ष पस्किनुलाई आनन्दको रुपमा लिने गरेका बताए । उनले भने, ‘तर, कार्टुनिस्ट क्लब अफ नेपालले नेतामाथि क्यारिकेचर गर्नुभन्दा समाजका अन्य प्रसिद्ध, चर्चित व्यक्तिमाथि क्यारिकेचर गर्नु उत्तम ठानेर वर्षेनी क्यारिकेचर प्रदर्शनी गर्दै आएको छ । यस कार्यमा विगत चार–पाँच वर्षदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले क्लबसँग मिलेर कार्यक्रम गर्दै आइरहेको छ ।’ उनले क्यारिकेचर प्रदर्शनीमा महिला कलाकारलाई पनि साथै हिडाउने प्रयास गर्नुपर्ने धारणा राख्दै अर्को वर्ष महिला कलाकारको क्यारिकेचर कार्यशाला गर्ने जानकारी दिए ।

    उक्त प्रदर्शनीमा अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, योगेश खपांगी, केशव राज खनाल, रविन्द्र मानन्धर, रवि मिश्र, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, भानु भट्टराई, उमेशचन्द्र अधिकारी, पदम घले, सागर शाह, राजेश मानन्धर, नवीन नाल्बो, महेश बस्ताकोटी, कमल गोसाई, दिनेश प्रधान, एनबी गुरुङ, रमिला महर्जन, उजेली सुनार, शुभा जोशी, सुजिता महर्जन, राजकी अर्याल, सानुराज डंगोल, सौरभ कोइराला, रामहरि रिमाल, वामन चालिसे, विरोचन मल्ल, बाबु साइँला, विकास तमाकु, विनय रिमाल, अभिनास मल्ल भिम सुब्बा तामाङ सहभागी छन् । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, मदन चित्रकार, महावीर पुन, डा.सन्दुक रुइत, पत्रकार किशोर नेपाल, कुमार नगरकोटी, दयाहाङ राई, डा. गोविन्द केसी, उदितनारायण झा, सुनिल थापा, अविन श्रेष्ठ, सुजन चित्रकार, विपिन कार्की, मनोज गजुरेल, राजेश हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्तोष पन्त, रवि लामिछाने , सौरभ ज्योति एनबि गुरुङ , न्ह्यु : बज्राचार्य , सन्दीप क्षेत्री , खगेन्द्र लामिछाने लगायतका व्यक्तित्वका क्यारिकेचर राखिएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै