यो कोरोना अनि लकडाउन
• डा. किस्मत भण्डारी
टोखा लाइभ ।आजभन्दा झन्डै ४० वर्ष अगाडि नेपालीको औषत आयु करिब ४७ वर्ष थियो। हाल नेपालीको औषत आयु करिब ७१ बर्ष पुगेको छ। यसमा खासगरी आधुनिक चिकित्सा पद्धतिको महत्त्वपूर्ण योगदान मान्नुपर्छ ।
यतिबेला पनि विश्वभरि नै कोरोना भाइरस (कोभिड 19) महामारी फैलिरहेको छ। नेपाल पनि एकातिर कोरोना भाइरस महामारीकाे चपेटामा छ भने अर्कोतिर यस सम्बन्धि अनावश्यक, निराधार र भ्रामक सन्देशहरु सामाजिक संजालमा छ्यापछ्याप्ती फैलाईएका छन् । सामाजिक सन्जालमा हेर्दा लाग्छ लगभग सबै नेपाली कोरोना विज्ञ छन !!! यस्ता कुराहरुले यो रोग बिरुद्ध चालिएका र चाल्नु पर्ने जनस्वास्थ्यका कदमहरुलाई कमजोर बनाउँछन्।
कन्सपिरेसि थ्यौरीवालाहरुलाई हौसला नदिउँ । सर्वसाधारण जनता अज्ञानी छन् भनेर भ्रम छर्ने काम नगराैँ !!! आधिकारिक सुचना र सन्देश मात्र सम्प्रेषण गराैँ।
कोरोना भाइरस विश्वभरि फैलीएको महामारी हो। यसले विश्वभरिमा लाखौंकाे सङ्ख्यामा मानवीय क्षति भईसकेको छ भने २ कराेड भन्दा बढी व्यक्तिहरु संक्रमित भएका छन्। यसको अहिले सम्म खोप र प्रभावकारी औषधि पत्ता लागेको छैन। आयुर्वेदिक, होमियोप्याथि लगायत बैकल्पिक चिकित्साका उपचार विधिले राेग प्रतिरोधात्मक क्षमता त बढाउछन तर कोरोनाको संक्रमण कम हुने वा सन्चो हुने अहिले सम्म प्रमाणित भएको छैन। कोरोना भाईरस (कोभिड 19) उच्चसंक्रमण दर भएको सरुवा रोग हो । हालसम्म याे राेगकाे खोप र प्रभावकारी औषधी तयार छैन।
छिमेकी मुलुक भारतमा एकैदिनमा १००० भन्दा बढिको कोरोनाको कारणले ज्यान गएको तथ्यांक छ। काठमाण्डौ उपत्यका पनि उच्च जोखिममा छ । त्यो स्थितिमा काठमाण्डौ उपत्यकाको अवस्था कस्तो होला? सम्झिदा पनि आंगै सिरिगं हुन्छ। सरकारको एक्लो प्रयासले मात्र कोरोना रोकथाम असम्भव छ। सामाजिक अगुवा तथा नेताहरुले सार्वजनिक रुपमा कोरोना भाइरसको बारेमा जनतालाई सरल भाषामा यसबारे बुझाउनु पर्छ अन्यथा स्थिति थप भयावह बन्ने देखिन्छ। सामाजिक दुरी कायम राख्ने, अरु व्यक्ति संग नजिक जाँदा मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्ने कुराहरुले मात्र कोरोनाको जोखिमलाई कम गर्ने देखिएको छ।
यधपी , हामीलाई अव सतर्कता सहित समान्य जनजीवनमा नआईकन धरै छैन र क्रमश: आउनु पनि पर्नेछ । त्यसैले सबैजना आ-आफ्नो ठाउँमा सचेत बनौं। आफु र आफ्नो समुदायलाई समेत कोरोना लाग्नबाट बचाउँ। अनावश्यक हल्लाहरुका पछाडी नलागौं। आफ्नोतर्फबाट सुसूचित बनाैँ र सकेसम्म सुरक्षित रहँदै अगाडिकाे यात्रा तय गराैँ।

