टाेखा लाइभ भाद्र ३१ काठमाडौं
एजेन्सी – गत वर्ष नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् राजेश परियार। नेपाली फरवार्ड राजेश परियारले अब भारतको दोस्रो श्रेणी लिग, आई लिग-२ खेल्ने भएका छन् ।
फुटबलर राजेशले आई लिग-२ अवधिभरका लागि अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबसंग सम्झौता पनि गरिसकेका छन् । उनी यसै प्रतियोगितामा सहभागिता जनाउन यो साता भारत प्रस्थान गर्दैछन् । २० वर्षीय राजेशले गत सिजन न्यू रोड टिम (एनआरटि) का लागि ए डिभिजन खेलेका थिए ।यसअघि राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजालले पनि दोस्रो श्रेणीको क्लब मोहमडन फुटबल क्लबसंग सम्झौता गरिसकेका छन् । उनी विगत एक महिनादेखि क्लबमा नियमित प्रशिक्षण गरिरहेका छन् । लिग सुरु हुने मिति भने हालसम्म तय भैसकेको छैन ।

एन्फा एकेडेमीका उत्पादन राजेशले उमेर समूहमा पनि नेपालको लागि राम्रो प्रतिनिधित्व गरिसकेका छन् । राजेशले सागमा भुटानविरुद्ध फाइनल खेलमा समेत खेलेका थिए । उमेर समूहबाट नेपालका लागि खेल्दै आएका उनको खेलबाट प्रभावित भएपछि क्लबले उनलाई अनुबन्ध गरेको बताएको छ।

