‘केटाकेटी(हरू)’ शीर्षकमा लेखिएका ४ सुप्रख्यात नेपाली कविता:
१)
केटाकेटीहरू
– मनु मन्जिल
केटाकेटीहरू जिस्किँदाजिस्किँदै
एकार्कालाई लखेट्न
बगैँचामा फुलिरहेका फूलका हाँगाहरू भाँच्छन् ।
सौन्दर्यका हाँगा त्यसरी भाँच्चिँदा
मनै भाँच्चिन्छ
तर के गर्नु ?
केटाकेटीका फूलजस्ता नरम गालाहरूमा
कठोर हत्केलाको नीलो डाम
पटक्कै सुहाउँदैन ।
लुकामारी खेल्दाखेल्दै केटाकेटीहरू
मेरो बस्तीमा बाक्लै लाग्ने हुस्सुमा गएर हराउँछन्
बताससँगै कहाँकहाँ कुदेर आउँछन्
घरी पानीसँगै रूझेर आउँछन्
घरी यी मसिना साँढेहरू
चोटै लाग्ने गरि कतै जुधेर आउँछन् ।
लाग्छ, मकैबारीबाट
बट्टाई लखेटेझैँ लखेटूँ सैतानहरूलाई
र ढुक्क बसूँ ।
तर बालकबिनाको घर
धुन रित्तिएको सारङ्गी बन्छ
तारा नभएको रातको आकाश बन्छ
म के गरूँ ?
यिनीहरूले त घरका भित्ताहरू यति भत्काइसके
कि मेरो घर चोर लुक्ने ठाउँ भएको छ ।
छानाभरि बेहिसाब प्वालैप्वाल मात्र छन्
कसैगरी अलिकति आकाश खस्यो भने
कतै नठोक्किई सोझै
मझेरीभरी पोखिन्छन् ताराहरू,
इन्द्रेणीले छानामाथिबाट निहुरिएर मात्र हेर्ने हो भने
रङैरङले भिज्छ घरैभित्र जिन्दगी ।
बल्लतल्ल बोल्नसम्म सक्ने यी केटाकेटीहरूले
झुट बोलेर हैरान छु म ।
यिनीहरू रेडियो सुन्छन् ,
टेलिभिजन हेर्छन् ,
राज्यको संस्कारले लफ्रक्कै भिज्छन् नानीहरू ।
तर यिनीहरूको तोतेबोलीमा झुट
सत्यभन्दा पनि सुन्दर लाग्छ,
झुटलाई बिगारेर बोलेको
अाहा ! कति सुन्दर लाग्छ ।
केटाकेटीहरू त चकचके नै राम्रा ।
केटाकेटीलाई जत्तिको कसैलाई सुहाउँदैन
बदमासी, होहल्ला, झुट र केटाकेटीपन,
तर केटाकेटीहरू बाहेक
यो देशका अरू मान्छेहरूलेचाहिँ
अलिक गम्भीर भइदिएकै सुहाउँथ्यो कि ?
Manu Manjil
२)
केटाकेटी
– सुुुमन पाेखरेल
टिप्न खोजे मात्र भने पनि
तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट,
तिनका ससाना पाउबाट टेकिए
आजीवन आफैँलाई धिक्कार्छ काँढा ।
सोचीसोची छानिएर
सुकोमल हल्का भएर बस्छ
सपना पनि तिनका आँखामा ।
तिनका ओठमा बसेपछि
उच्चारण गर्दै डरलाग्ने शब्द पनि
तोते भएर निस्कन्छन् ।
चराहरूलाई जिस्क्याउँदै कलकल हाँसिरहेको पहाडी नदी
तिनको हाँसो सुनेपछि
आफ्नो घमन्डमा खेद गर्दै चुपचाप मधेस झर्छ ।
खेल्दाखेल्दै कतै ती लडिहाले भने,
कतिखेर उठेर फेरि अर्को कौतूहल खेल्न थाले
तिनको चकचकको रचनात्मकतामा लठ्ठिएको प्रकृतिले समेत पत्तो पाउँदैन ।
नजानी लडे भनेर सायद,
भुइँले धेरजसो त चोट पनि लगाउँदैन ।
तिनको मुस्कानको निश्छलता
युगौँको अभ्यासले पनि अनुकरण गर्न सकेनन् कुनै फूलले ।
विश्वभरका अनेकन दिग्गज सङ्गीतकारसँगको सदियौँको सङ्गतमा पनि
कुनै वाद्ययन्त्रले सिक्न जानेन तिनको बोलीको मधुरता ।
तिनले फुटाए भने फुट्दाफुट्दै पनि हाँसिदिन्छ गमला,
तिनका निष्कपट हातबाट पोखिन पाउँदा
हर्षले उफ्रिउफ्रि छरिन्छन् जेसुकै पनि,
तिनीहरूसँग खेल्दाको आनन्दमा
आफू रङ्गविहीन भएको पनि बिर्सन्छ पानी खुसीले ।
सोच्दछु,
कतै सृष्टिले अलि बढी नै अन्याय त गरेन ?
बिना युद्ध सबैलाई पराजित गर्ने सामर्थ्यसाथ
जीवनको सर्वाधिक सुन्दर जुन क्षण खेलाएर निमग्न छन् केटाकेटीहरू,
त्यस स्वर्णिम आनन्दको बाेध होउन्जेलमा
भागिसकेको हुनेछ त्यो तिनीहरूबाट
कहिल्यै नफर्कनेगरी ।
Suman Pokhrel
३)
केटाकेटीहरू
– बिना थिङ तामाङ
केटाकेटीहरू
आँखामा काैतूहलता बोक्छन्
कमिजको खल्तीमा सपना बोक्छन्
झोलामा भविष्य बोक्छन्
टिफिन बट्टामा भोक बोक्छन्
र विद्यालय छिर्छन्
विद्यालयमा केटाकेटीहरू
अंकहरूको गणित सिक्छन्
अक्षरहरूको चाङ मिलाउँछन्
निर्देशित हरफहरू कण्ठ पार्छन्
सूक्ष्मदर्शक यन्त्रले प्याजका पारदर्शी झिल्लि हेर्छन्
तर किन केटाकेटीलाई
जिन्दगीको गणित मिलाउन हम्मे हम्मे पर्छ ?
किन मान्छेको हृदय पढन तिनलाई सकस छ ?
किन तिनीहरू विस्मृतिमा डुब्छन् ?
र किन लेख्न सक्दैनन्
आफ्नै सफल आत्मकथा ?
हाम्रा विद्यालयभित्र
राज्य केटाकेटीहरूको लगाम खिच्छ
र एकाेहोरो हिँडाउँछ
तिनीहरूको हृदयमा स्पात कस्छ
राज्य केटाकेटीहरूलाई
कमसल ट्यागवाला उत्पादन बनाउँछ
जसको कुनै बजार छैन
विद्यालयमा
एउटा पट्यारलाग्दो दशक बिताएपछि
केटाकेटीहरू हलुका कागजको
सर्टिफिकेट बोकेर निस्कन्छन्
र लगेर साेकेसमा सजाउँछन्
जसलाई नियालेर तिनको कपाल फुल्दैजान्छ
तर जिन्दगी कहिल्यै फुल्दैन
जसलाई घोकेर आवाजहरू
असफलताको कर्कश ध्वनि निकाल्छन्
विद्यालयबाहिर
मोजाका डल्लाहरूको भकुण्डो खेल्दै
जब केटाकेटीहरू लामो समय चौरमा दौडन्छन्
तिनीहरूको अनुहारमा घाम टाँगिएको देख्नसकिन्छ
जब पत्थरका ढ्याक
एकआपसमा ठोक्काउँदै बगरतिर खेल्न निस्कन्छन्
तिनीहरूको आत्मविश्वास जब्बर हुन्छ
जब काँसघारीमा आँखा छोपेर लुकामारी बोल्छन्
तिनीहरूको मन उज्यालो हुन्छ
जब ती ढिकीच्याँउमा आफ्ना वजन जोख्छन्
प्रफुल्लताले ती फूलजस्तै हलुका हुन्छन्
र एकअर्कालाई सजिलै उचालिइरहन्छन् पालैपालो
वास्तवमै
विद्यालयबाहिर नै तिनीहरू
चराजस्तै आफ्नो उडान भर्छन्
खोलाको उन्माद बटुल्छन्
हावाको वेग पक्रन्छन्
उज्यालोको गीत गाउँछन्
जीवनको लय झिक्छन्
साँच्चै
हामी किन विद्यालयबाहिर विद्यालय बनाउँदैनौँ ?
Bina Theeng Tamang
४)
केटाकेटी
– लेखनाथ छेत्री
केटाकेटीलाई नदेखाउनू कुनै मन्दिरको ढोका
अथवा नभन्नू कि त्यहीँ बस्छ ईश्वर ।
ताकि उनीहरूले
आफैँ ईश्वर हुनुको विश्वास नहराइपठाऊन् ।
केटाकेटीलाई नपढाउनू इतिहास ।
ताकि इतिहास पढ्दापढ्दै
उनीहरूले लेख्न नबिर्सिऊन् आफ्नो वर्तमान ।
नभन्नू कोही थियो
गान्धी
हिटलर
अथवा कोही ।
ताकि उनीहरू आफैँ केही हुन
अनावश्यक सम्झिउन् ।
जब नबुझिने अक्षर लेख्छन् केटाकेटी
तब केही नभन्नू ।
ताकि उनीहरूले खोजून् आफ्नै भाषा
बनाऊन् आफ्नै व्याकरण
जो तमाम बहसहरूदेखि टाढा होस् ।
जब सादा कागजमा बनाउँछन् केटाकेटी अमूर्त तस्बिर
जब बनाउँछन् आराको धारजस्तो पहाड
जब घस्छन् पानीमा गुलाबी रङ
अथवा बनाउँछन् घरभन्दा ठूलाठूला मान्छे,
तब सिकिरहेका हुन्छन् उनीहरू
कि एउटा सिधा रेखा
एउटा सिङ्गो रङ
अथवा कुनै निश्चित आकार हुँदैन जीवन ।
स्कूलको घण्टी बजेपछि
जब बेधडक घरतिर कुद्छन् केटाकेटी
उनीहरूलाई नलगाउनू थप्पड ।
आफ्नै घुँडामा लागेको चोटले सिकून् बरू उनीहरू
कि हतार हतार कुद्नु होइन
हिँडेर कहीँ पुग्नु हो जीवन ।
केटाकेटीलाई नबोकाउनू भारी पुस्तक
नघोकाउनू कलिलो मस्तिष्कलाई कुनै गम्भीर सिद्धान्त
अथवा नसिकाउँनू जबरजस्ती घटबड गुणाभागका जटिल हिसाब ।
अझ धेरै समय छ
केटाकेटी नै त छन् केटाकेटी
केटाकेटी नै हुन दिनू ।
Lekhnath Chhetri

