टोखा, असोज २५। ऐतिहासिक सपनतीर्थ मन्दिरसँग सम्बन्धित गुठी परम्पराको संरक्षण गर्दै निरन्तरता दिन सपनतीर्थ क्षेत्र विकास समितिले अक्षयकोष स्थापना गरेको छ। गुठी सञ्चालन तथा स्थानीय मौलिक बाजागाजा र सांस्कृतिक परम्परालाई जीवन्त राख्ने उद्देश्यले समितिले तीनवटा खलःलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
नेपाल संवत् ११४६ कौलाथ्व पारुका दिन आइतबार आयोजित कार्यक्रममा सपनतीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोलको अध्यक्षतामा सहयोग रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रममा सपनतीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष पञ्चलाल डङ्गोलले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।साथै,गुठी परम्परा, मौलिक बाजागाजा र सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले सपनतीर्थ क्षेत्र विकास समितिले स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षणका लागि गरेको पहल प्रशंसनीय रहेको बताए। उनले धिमे, नायखीं, दाफा तथा अन्य मौलिक बाजागाजा र सांस्कृतिक परम्परा टोखाको ऐतिहासिक पहिचानसँग जोडिएको उल्लेख गर्दै यिनको संरक्षण गर्नु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरे। पुस्तौँदेखि चल्दै आएका गुठी परम्परा र सांस्कृतिक गतिविधिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न समितिले थालेको अभियानले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै संस्कृति संरक्षणका लागि समितिसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
टोखाका मूल नाइके हेमराज श्रेष्ठले सपनतीर्थ क्षेत्र विकास समितिले गुठी परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणका लागि गरेको पहलले स्थानीय मौलिक परम्परालाई निरन्तरता दिन सहयोग पुग्ने बताए।स्थानीय मौलिक बाजागाजा, दाफा परम्परा तथा सांस्कृतिक सम्पदालाई जीवन्त राख्न अक्षयकोष स्थापना र आर्थिक सहयोग हस्तान्तरणले महत्त्वपूर्ण योगदान पुर्याउने धिमे, नायखीं र दाफाजस्ता परम्परागत बाजागाजा तथा सांस्कृतिक गतिविधि नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता सहयोग महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले स्थानीय संस्कृति र परम्परा संरक्षणका लागि आर्थिक स्रोतको उचित व्यवस्थापन आवश्यक रहेको बताए। सपनतीर्थ क्षेत्र विकास समितिले अक्षयकोष स्थापना गरी खलःहरूलाई सहयोग गरेको पहलले मौलिक बाजागाजा र सांस्कृतिक परम्पराको निरन्तरतामा टेवा पुग्ने उनको भनाइ थियो।
नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले गुठी परम्परा टोखाको ऐतिहासिक पहिचान र सांस्कृतिक जीवनसँग जोडिएको उल्लेख गर्दै यसको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताए। स्थानीय मन्दिर, भोजभतेर तथा विभिन्न कार्यक्रमबाट सङ्कलित चन्दा रकमलाई संस्कृति संरक्षणमा सदुपयोग गर्ने सपनतीर्थ क्षेत्र विकास समितिको पहलले परम्परागत खलःहरूलाई सक्रिय राख्न सहयोग पुग्ने उनले बताए।
समितिका अध्यक्ष देवराज डङ्गोलले सपनतीर्थ क्षेत्र विकास समितिको पहलमा वर्षभरि विभिन्न पार्क, भोजभतेर तथा मन्दिरमा सङ्कलन भएको चन्दा रकमलाई सदुपयोग गर्दै सपनतीर्थ मन्दिरमा भजन तथा जात्रा सञ्चालन र स्थानीय खलःका सांस्कृतिक परम्परालाई निरन्तरता दिन आर्थिक सहयोग गरिएको बताए। दाफा, नायखीं, धिमे तथा बाँसुरी खलःलाई जीवन्त राख्दै पुस्तौँदेखि चल्दै आएका मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले समितिले निर्णय गरेरै सहयोग रकम हस्तान्तरण गरेको उनको भनाइ थियो।
उनले राज्यले गर्नुपर्ने सांस्कृतिक संरक्षणको काम आफूहरूले आँट र साहसका साथ टोखामा पहिलोपटक यस किसिमको उदाहरणीय पहलमार्फत अघि बढाएको उल्लेख गर्दै भाषण र प्रचारमा मात्र सीमित नभई काम गरेर देखाउने कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने बताए। साथै, समितिको यस कार्यशैलीबाट सबैले सिक्न आग्रह गरे।
समितिले सपनतीर्थ मन्दिरको अक्षयकोषमार्फत सपनतीर्थ धिमे खलःलाई एक लाख ५० हजार रुपैयाँ, नायखीं बाजा खलःलाई दुई लाख ५० हजार रुपैयाँ र जोर भीमसेन दाफा खलःलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कार्यक्रममा टोखा नगरपालिका २ का वडा सदस्यहरू अमर डङ्गोल र आर्यन डङ्गोल, टोखाका मूल नाइके हेमराज श्रेष्ठ, टोखा सांस्कृतिक सङ्घ क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ तथा नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितलगायतको उपस्थिति थियो।
त्यसैगरी धिमे गुरुहरू कृष्ण डङ्गोल र आसामरु डङ्गोल, नायखीं गुरु मिमलाल खड्गी तथा जोर भीमसेन दाफा खलःका गुरुहरू कान्छा डङ्गोल, शङ्खनारायण डङ्गोल, कृष्णलाल लवत र माइला डङ्गोलको पनि सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सपनतीर्थ क्षेत्र विकास समितिका सचिव हेरकाजी डङ्गोलले गर्नुभएको थियो।कार्यक्रममा कोषाध्यक्ष सोखराज डङ्गोल, सदस्यहरू तथा सल्लाहकारहरूको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा स्थानीय मौलिक बाजागाजा, गुठी परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा अक्षयकोष तथा आर्थिक सहयोगले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


