काठमाडौँ । काठमाडौँको ग्वलः दे नवाली टोलमा रहेको ऐतिहासिक ‘नासः द्यः छेँ’ (नित्यनाथ मन्दिर) को पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माणपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक समारोहबीच मन्दिरको उद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँ महानगरपालिकाले महानगरको मौलिक पहिचानसँग जोडिएका मूर्त, अमूर्त, अभिलेख तथा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “भौतिक र अभौतिक सम्पदा जोगाउन नीति, योजना, बजेट र कार्यक्रम बनाएर प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छौँ।” उहाँले प्राचीन ग्वलः देको मौलिकता र सांस्कृतिक लय फर्काउन वडाले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो।
करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको प्रत्येक तलाको क्षेत्रफल ८१३.०६ वर्गफिट रहेको छ। पहिलो तलामा सन्ध्या पुस्तकालय, दोस्रो तलामा सामाजिक कार्य, बाजागाजा प्रशिक्षण तथा भोजका लागि प्रयोग हुने व्यवस्था गरिएको छ। तेस्रो तलामा नित्यनाथको मन्दिर रहेको छ।
कार्यवाहक प्रमुख डंगोलले पुनःनिर्माणपछि समुदायको सम्पदा समुदायमै स्थापित भएको भन्दै यसको संरक्षणको जिम्मेवारी पनि स्थानीय समुदायले लिनुपर्नेमा जोड दिनुभयो।
वडा नं. ८ का अध्यक्ष तथा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले परम्परा र संस्कारसँग जोडिएको संरचनालाई पुनर्जीवन दिन सफल भएको बताउनुभयो। स्थानीय र उपभोक्ताको प्रत्यक्ष निगरानीका कारण मन्दिरको मौलिकता कायम गर्न सकिएको उहाँको भनाइ थियो।
मन्दिरको पुनःनिर्माणका लागि स्थानीयवासीबाट उल्लेख्य सहयोग प्राप्त भएको जनाइएको छ। नेपाली परम्परागत वास्तुशैलीमा निर्माण गरिएको मन्दिरलाई केवल भौतिक संरचनाका रूपमा नभई स्थानीय सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएको सम्पदाका रूपमा विकास गरिएको छ।
यसअघि जीर्ण अवस्थामा रहेको मन्दिरलाई २०३९ सालमा तत्कालीन वडाध्यक्ष स्वर्गीय सुवर्ण वैद्यको पालामा ढलान गरेर पुनःनिर्माण गरिएको थियो। त्यसपछि संरचनामा तला थप गरी पुस्तकालय, पूजाआजा तथा परम्परागत बाजागाजा प्रशिक्षण सञ्चालन हुँदै आएको थियो।
नयाँ पुनःनिर्माणसँगै नित्यनाथको निराकार प्रस्तर मूर्ति पनि पुनःस्थापना गरिएको छ। २०८२ मंसिर ५ गते करिब तीन फिट अग्लो प्रस्तर मूर्तिलाई आसनमा पुनःस्थापना गरिएको हो। यसअघि मूर्तिको सट्टा प्रतिआकृति राखेर पूजा गर्ने गरिएको थियो।
नित्यनाथ अर्थात् नासः द्यःलाई नेवार समुदायमा संगीत, गायन, नृत्य तथा परम्परागत बाजागाजासँग जोडिएको महत्वपूर्ण देवताका रूपमा मानिन्छ। स्थानीय संस्कृतिका जानकार राजेश संगतका अनुसार परम्परागत बाजा, गायन तथा नृत्य सिकाइ सुरु गर्नुअघि नित्यनाथको पूजा गर्ने प्रचलन छ। नित्यनाथको पूजाआराधनाका लागि बिहीबारलाई विशेष र शुभ दिन मानिन्छ।
कार्यक्रममा नित्यनाथ सत्तलमा सञ्चालित तीनमहिने बाँसुरी, पछिमा, धिमय् तथा धिमय् नृत्य प्रशिक्षण पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। सोही अवसरमा पुनःनिर्माणमा योगदान पुर्याउने वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राई र डिजाइनर इञ्जिनियर सुशन वैद्यलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, ज्यापू सांस्कृतिक विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन, सन्ध्या पुस्तकालयका अध्यक्ष शिवकुमार संगतलगायतले ग्वलः क्षेत्रको प्राचीन संरचना र मौलिक जीवनशैली संरक्षणमा महानगरको पहल महत्वपूर्ण रहेको बताएका थिए।
यस पुनःनिर्माणसँगै ग्वलः देको एउटा पुरानो सांस्कृतिक धरोहरले नयाँ स्वरूप पाएको छ भने मन्दिरसँगै पुस्तकालय, सामाजिक गतिविधि र परम्परागत कला–संस्कृतिको अभ्यास गर्ने थलोसमेत थप व्यवस्थित बनेको छ।

