काठमाडौं । विदेशी पर्यटक नेपाल आएपछि होटल, रेस्टुरेन्ट तथा घुमफिरमा खर्च गर्छन् भन्ने आमधारणा छ। तर काठमाडौंको न्यूरोडमा केही दिनयता देखिएको एउटा दृश्यले यो धारणाभन्दा फरक कथा प्रस्तुत गरेको छ।
रुसबाट आएकी ‘लिरा’ नाम बताउने एक विदेशी युवती न्यूरोडको सडक किनारमा बसेर ह्यान्डप्यान (स्टिल टङ ड्रम) बजाउँदै स्वेच्छिक सहयोग संकलन गरिरहेको अवस्थामा भेटिएकी छन्। पहिलो नजरमा उनी सडक कलाकारजस्ती देखिन्छिन्। मुस्कुराउँदै ताल मिलाएर बाजा बजाउने उनको शैलीले पैदल यात्रुहरूको ध्यान खिच्ने गरेको छ।
उनको छेउमा एउटा सानो झोला राखिएको हुन्छ, जसमा बाटो हिँड्ने मानिसहरूले आफ्नो इच्छाअनुसार रकम राख्ने गरेका छन्। कालो धातुले बनेको ह्यान्डप्यानमा ‘ॐ’ लेखिएको देखिन्छ।
नेपालमा सडक किनारमा बसेर सहयोग माग्ने दृश्य सामान्य भए पनि विदेशी नागरिकले यसरी बाजा बजाउँदै सहयोग संकलन गरेको दृश्य भने धेरैका लागि नौलो बनेको छ।
लिराले आफ्नो परिचय र यात्राबारे जानकारी दिन नेपाली भाषामै एउटा प्लेकार्डसमेत राखेकी छन्। त्यसमा ‘म रुसबाट हुँ । पाँच वर्षदेखि विभिन्न देश घुम्दैछु । अब उज्बेकिस्तान जाँदैछु । धन्यवाद ।’ लेखिएको छ। प्लेकार्डमा उनले आफ्नो इन्स्टाग्राम आइडीसमेत उल्लेख गरेकी छन्।
उनका अनुसार उनी विगत पाँच वर्षदेखि विभिन्न देशको यात्रा गरिरहेकी छन्। नेपालपछि उनको गन्तव्य उज्बेकिस्तान रहेको उनले जानकारी दिएकी छन्। यात्राका क्रममा विभिन्न देशका सडक किनारमा बाजा बजाउने र मानिसहरूले स्वेच्छाले दिएको सहयोगबाट यात्रा खर्च जुटाउने उनको शैली देखिन्छ।
विदेशी नागरिकलाई सामान्यतया आर्थिक रूपमा सम्पन्न ठानिने नेपाली समाजमा उनको यो गतिविधि भने फरक दृश्य बनेको छ। यसले सहयोग माग्ने अभ्यास आर्थिक अभावसँग मात्र सम्बन्धित नहुन सक्ने र कतिपय व्यक्तिले यसलाई आफ्नो यात्रा तथा जीवनशैलीकै हिस्सा बनाउने गरेको देखाउँछ।
व्यस्त न्यूरोडमा मुस्कुराउँदै बाजा बजाइरहेकी लिराले आर्थिक सहयोग मात्र संकलन गरिरहेकी छैनन्, सडक संगीत, वैकल्पिक यात्रा शैली र विदेशीप्रतिको नेपाली समाजको परम्परागत धारणाबारे पनि नयाँ बहसको विषय सिर्जना गरेकी छन्।

