काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रकै प्रमुख प्रदर्शनीका रूपमा स्थापित ‘एच.पी. प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आगामी भदौमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा अटो शोको १८औँ संस्करण आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ। नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधि, उत्पादन तथा ब्रान्डहरूबारे जानकारी दिने प्रमुख मञ्चका रूपमा अटो शोलाई लिइँदै आएको छ।
यस वर्षको प्रदर्शनीमा साना तथा ठूला गरी करिब २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न प्रकारका सवारीसाधन, अटोमोबाइल कम्पोनेन्ट, पार्टपुर्जा तथा सम्बन्धित उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ।
नाडाका अनुसार अटो शोमा २२ ब्रान्डका प्यासेन्जर कार सहभागी हुनेछन्। त्यस्तै, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन पनि प्रदर्शनीमा राखिनेछन्।
अटो शोमा सवारीसाधनसँगै अटोमोबाइल क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा उत्पादनबारे समेत जानकारी लिन सकिने आयोजकले जनाएको छ। पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढिरहेको अवस्थामा विभिन्न ब्रान्डका नयाँ मोडल तथा प्रविधिले प्रदर्शनीलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा सवारीसाधनका अतिरिक्त अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष जोडिएका कम्पोनेन्ट तथा अन्य व्यवसायीको समेत उल्लेख्य सहभागिता रहनेछ।
आयोजकका अनुसार ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्। यसले नेपाली अटोमोबाइल उद्योगमा स्वदेशी उत्पादन र व्यवसायको सम्भावना उजागर गर्नसमेत सहयोग पुग्ने नाडाको विश्वास छ।
नाडाका अनुसार यसपटक अटो शोमा सहभागी हुन स्टल माग गर्ने व्यवसायीको संख्या उल्लेख्य रहेको छ। प्रदर्शनीस्थलमा उपलब्ध स्थान सीमित भएकाले इच्छुक सबै व्यवसायीलाई मागअनुसार स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको आयोजकले जनाएको छ।
अटो शोमा सहभागिताका लागि व्यवसायीको उत्साहलाई नेपाली अटोमोबाइल बजारप्रतिको चासोका रूपमा समेत हेरिएको छ।
पछिल्लो समय विभिन्न कारणले सुस्त रहेको नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले गरेको छ।
स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिताले उपभोक्तालाई एउटै स्थानबाट विभिन्न सवारीसाधन, प्रविधि तथा सेवाबारे जानकारी लिन सहज हुने आयोजकको भनाइ छ। अटो शोमार्फत उपभोक्ता, व्यवसायी, वितरक तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यवसायिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ।
नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस वर्षको अटो शो आयोजकका लागि समेत विशेष महत्त्वको रहनेछ। पाँच दशक लामो संस्थागत यात्राको सन्दर्भमा आयोजना हुन लागेको प्रदर्शनीमार्फत नेपाली अटोमोबाइल क्षेत्रको विकास, वर्तमान अवस्था तथा आगामी सम्भावनालाई समेत प्रस्तुत गर्ने अवसर प्राप्त हुने नाडाको विश्वास छ।
अटो शोमा सवारीसाधन अवलोकन तथा खरिदमा रुचि राख्ने उपभोक्तादेखि अटोमोबाइल व्यवसायी, उद्योगी, प्राविधिक, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ।
नाडाले अटो शोमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ ऊर्जा थपिने, उपभोक्तालाई नयाँ विकल्पबारे जानकारी प्राप्त हुने तथा व्यवसायीलाई बजार विस्तारको अवसर सिर्जना हुने जनाएको छ।

