काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानको सम्मान गर्दै उनीहरूको योगदानलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिएको छ ।
पार्टीले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै आदिवासी समुदायले जल, जंगल, जमिन तथा प्रकृति संरक्षणमा परम्परागत रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाएको छ । एमालेका अनुसार आदिवासी समुदायका मौलिक भाषा, भेषभूषा, रीतिरिवाज तथा लोकसंस्कृति नेपालको साझा र अमूल्य सम्पदा हुन् ।
सन्देशमा संविधानले सुनिश्चित गरेको समान अधिकारको आधारमा राज्यका हरेक अंगमा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको व्यवस्था स्थापना तथा कार्यान्वयन गर्दै आएको दाबी पनि गरिएको छ ।
एमालेले देशलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने राष्ट्रिय लक्ष्यतर्फको यात्रामा केही समय चुनौती र अवरोध देखिए पनि त्यो अवस्था दीर्घकालसम्म कायम नरहने उल्लेख गरेको छ । उक्त लक्ष्य प्राप्तिका लागि सबै समुदायको जागरूकता, सहभागिता र साझा प्रयास आवश्यक रहेको पार्टीको भनाइ छ ।
साथै, सदियौँदेखि कायम आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै एमालेले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक संविधान र संविधानप्रदत्त अधिकारको संरक्षणका लागि सम्पूर्ण समुदायबीच एकता अपरिहार्य रहेको जनाएको छ ।
विविधतालाई राष्ट्रको शक्ति र सम्पत्तिका रूपमा आत्मसात् गर्दै साझा समृद्धिका लागि एकताबद्ध हुन एमालेले सबैमा आह्वान गरेको छ ।

