• TOKHA LIVE

      TOKHA LIVE

    • २२ श्रावण २०८३, शुक्रबार १३:२४

    परम्परागत वास्तुकलासहित पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

     

    काठमाडौं, साउन २२ / काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरी बिहीबार उद्घाटन गरेको छ। करिब ८ करोड ९५ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको सत्तलको उद्घाटन महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन्।

     

    उद्घाटन कार्यक्रममा डंगोलले करदाताको लगानीबाट पुनःनिर्माण गरिएका सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै यस्ता संरचनालाई व्यावसायिक प्रयोजनभन्दा धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिका लागि उपयोग गर्नुपर्नेमा जोड दिइन्। उनले स्पष्ट योजना र संरक्षणको सुनिश्चिततासहित संरचना गुठी संस्थानलाई हस्तान्तरण गर्न महानगर तयार रहेको पनि बताइन्।

    सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरपालिकाले अन्य निकायको जिम्मेवारीमा रहेका सम्पदाको संरक्षण र पुनःनिर्माणमा समेत लगानी गरिरहेको उल्लेख गर्दै सम्पदाको मौलिकता जोगाउन महानगर प्रतिबद्ध रहेको बताए। उनले सम्पदा संरक्षणमा सम्बन्धित निकायबीचको समन्वय आवश्यक रहेको धारणा राखे।

    कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन तथा गुठी संस्थानका उपप्रशासक राजेन्द्र दाहालले पनि सम्पदा संरक्षण र व्यवस्थापनबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

    सम्पदा तथा पर्यटन विभागका अनुसार पुनःनिर्माणका लागि प्रारम्भिक लागत अनुमान १० करोड १० लाख ७९ हजार रुपैयाँ रहेको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत विनायक–एसपी–बोहोरा जेभीले निर्माणको जिम्मेवारी पाएको थियो। भेरिएसनपछि ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो।

    वि.सं. १९९७ सालको ऐतिहासिक तस्बिरलाई आधार मानेर पुनःनिर्माण गरिएको ५८३.८१ वर्गमिटर क्षेत्रफलको चौघेरा सत्तलमा परम्परागत निर्माण सामग्री र शैली प्रयोग गरिएको छ। सत्तलमा भुइँतलामा नौ कोठा, पहिलो तलामा तीन सभा कक्ष, एक कोठा, एक भण्डार कक्ष तथा माथिल्लो भागमा बुइँगल निर्माण गरिएको छ।

    करिब १,३०० वर्ष पुरानो मानिने महाङ्काल मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ। नेवार तान्त्रिक परम्परासँग जोडिएको यो मन्दिर काठमाडौंका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै