स्थानीय संस्कृति र सम्पदाको राष्ट्रिय पहिचान बढाउने ऐतिहासिक उपलब्धि
साउन २०, २०८३, काठमाडौं
हाँडीगाउँको ऐतिहासिक तथा मौलिक सांस्कृतिक परम्परा चोक्ते नारायण जात्रा अब हुलाक टिकटमा समेटिएको छ। “कहीँ नभएको जात्रा”का रूपमा परिचित यो जात्राले राष्ट्रिय पहिचान पाउँदै हुलाक टिकटमा स्थान बनाउन सफल भएको हो।
चोक्ते नारायण जात्रालाई हुलाक टिकटमा समावेश गराउन गरिएको लामो पहल सफल भएपछि हाँडीगाउँवासीमा उत्साह र खुसी छाएको छ। स्थानीय समुदायले यसलाई आफ्नो संस्कृति, इतिहास र पहिचानको सम्मानका रूपमा लिएका छन्।
यस अवसरमा हाँडीगाउँका स्थानीय तथा संस्कृति संरक्षण अभियानमा संलग्न व्यक्तिहरूले जात्रालाई राष्ट्रियस्तरमा चिनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।
“हाँडीगाउँको लागि विशेष दिन र हाँडीगाउँबासीका लागि गर्वको दिन हो। चोक्ते नारायण जात्रालाई हुलाक टिकटमा समावेश गर्न सफल भएका छौँ। यहाँहरूको साथ र सहयोग आगामी दिनमा पनि निरन्तर रहोस्,” स्थानीय पक्षले जनाएको छ।
चोक्ते नारायण जात्रा हाँडीगाउँको विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। धार्मिक आस्था, स्थानीय परम्परा र समुदायको सहभागितासँग जोडिएको यस जात्राले काठमाडौं उपत्यकाको मौलिक संस्कृतिलाई प्रतिनिधित्व गर्दै आएको छ।
हुलाक टिकटमा समावेश भएपछि चोक्ते नारायण जात्राको प्रचार–प्रसार नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत पुग्ने अपेक्षा गरिएको छ। यसले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र सम्पदाप्रति थप आकर्षित गराउने विश्वास गरिएको छ।


