• TOKHA LIVE

      TOKHA LIVE

    • १३ श्रावण २०८३, बुधबार १६:४२

    ज्यापु संस्कृतिको गौरवमय उत्सव : ६३ त्वाः गुठीका मूल गुरु सम्मानित

     

    काठमाडौं / गुरु पूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको २३औँ मंका गुरुपूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं महानगर क्षेत्रभित्र रहेका ६३ वटा त्वाः गुठीका मूल गुरुहरूलाई सम्मान तथा सामूहिक गुरु पूजा गरिएको हो।

     

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा परम्परागत बाजा, संस्कृति, संस्कार र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका गुरुहरूको सम्मान गरिएको थियो।

     

    कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले संस्कृति र संस्कारलाई नयाँ पुस्तासम्म पुर्‍याउने गुरुहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

    उहाँले गुरुहरूले आफूले सिकेको ज्ञान, सीप र परम्परालाई पुस्तान्तरण गर्दै समाजको सांस्कृतिक निरन्तरता कायम राख्न महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्नुभयो।

     

    उहाँले  संस्कृति संरक्षणका लागि आर्थिक पक्ष पनि महत्वपूर्ण हुने बताउँदै आर्थिक अवस्था कमजोर हुँदा मौलिक संस्कृति जोगाउन चुनौती हुने धारणा राखिन्। काठमाडौं महानगरपालिकाले संस्कृति संरक्षणका लागि प्रदान गर्दै आएको अनुदान तथा गुरु भत्तालाई आगामी दिनमा थप प्रभावकारी बनाउने जानकारीसमेत दिइन्।

    ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले कोष स्थापना भएदेखि नै गुरु सम्मान कार्यक्रम निरन्तर आयोजना हुँदै आएको बताउनुभयो।

    उहाँले ज्यापु समुदायको संस्कृति, परम्परा र मौलिक पहिचान जोगाउन गुरुहरूले पुर्‍याएको योगदानको सम्मान गर्नु कोषको महत्वपूर्ण उद्देश्य रहेको बताउनुभयो।

    उहाँले  परम्परागत बाजा, सांस्कृतिक ज्ञान र सामाजिक परम्परालाई जीवित राख्न गुरुहरूले गरेको योगदान अतुलनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने बताउनुभयो।

    ज्यापु संस्कृति विकास कोषका अनुसार गुरुपूजा कार्यक्रम विगत २३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ। यस अवसरमा ज्यापु समुदायको सांस्कृतिक तथा धार्मिक महत्व बोकेको परम्परालाई संरक्षण गर्दै गुरुहरूको सम्मान गर्ने परम्परा कायम राखिएको छ।

    ६३ त्वाः गुठीका मूल गुरुहरूको सम्मान

     

    गुरुपूजा कार्यक्रममा परम्परागत बाजा, सांस्कृतिक ज्ञान र गुठी परम्परालाई निरन्तरता दिँदै आएका मूल गुरुहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने प्रमुख गुरुहरूमध्ये न्हेमु न्हौखा मुसु बहा गुरु भाजु भाईराजा महर्जन लगायत रहेका थिए।

     

    ज्यापु संस्कृति विकास कोषले स्थापना कालदेखि नै गुरु सम्मान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

     

    कार्यक्रममा ज्यापु समुदायका विभिन्न सांस्कृतिक संस्था, गुठी, सामाजिक संघसंस्था तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

     

    कार्यक्रममा २३औँ राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०८२ का संयोजक तथा नरः कोताः त्वाःका अध्यक्ष कृष्णबहादुर डंगोल,

    काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागका संयोजक एवं ग्वल त्वाःका अध्यक्ष आशामान संगत,

    ज्यापु महागुथि नेपाल केन्द्रीय समितिका अध्यक्ष सत्यनारायण डंगोल,

    नारायण परिवारका अध्यक्ष तथा ज्यापु संस्कृति विकास कोषका सल्लाहकार प्रचण्डमान बज्राचार्य,

    ज्यापु दिवस संयोजन समितिका संयोजक सन्तु महर्जन,

    सल्लाहकार जुजुभाई डंगोल ज्यापु महागुथि नेपाल येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन लगायत रहेका थिए।

     

    त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी तथा ज्यापु प्रतिभा पुरस्कारका विभिन्न दाताहरूको समेत सहभागिता रहेको थियो।

     

    ज्यापु प्रतिभा पुरस्कारका दाताहरूमा बालमुकुन्द मान सिंह, प्रा. रत्नमान डंगोल, राजु महर्जन, हंसम्मन स्मृति समाजका तर्फबाट प्रकाशमान सिंह, रमेशमान मुनिकार, मनिषा डंगोल र रत्नकाजी महर्जन रहेका थिए।

     

    गुरुहरूको योगदानको प्रशंसा

     

    कार्यक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै गुरुहरूले संस्कृति, संस्कार, परम्परा र मौलिक ज्ञानलाई पुस्तान्तरण गर्न पुर्‍याएको योगदानको प्रशंसा गरे।

    उहाँले ज्यापु समुदायको मौलिक संस्कृति संरक्षणका लागि गुरुहरूको ज्ञान, अनुभव र योगदानलाई सम्मान गर्नु कोषको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो।

     

    उहाँले आधुनिक समयको परिवर्तनसँगै मौलिक संस्कृति संरक्षणमा चुनौती थपिँदै गएको अवस्थामा गुरुहरूको भूमिका अझ महत्वपूर्ण बनेको बताउनुभयो।

     

    कार्यक्रममा ग्वल त्वाःबाट परम्परागत मंगल धुन प्रस्तुति गरिएको थियो भने विभिन्न सांस्कृतिक गतिविधिसहित गुरुपूजा सम्पन्न भएको थियो।

     

    गुरुपूजा कार्यक्रमकै अवसरमा २३औँ राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०८३ को संयोजनसम्बन्धी कार्यक्रम पनि आयोजना गरिएको थियो।

     

    ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी राष्ट्रिय ज्यापु दिवस समारोहको संयोजन गर्ने जिम्मेवारी ग्वलः त्वाःका अध्यक्ष आशामान संगतलाई हस्तान्तरण गरिएको थियो।

     

    कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा २०८२ सालको राष्ट्रिय ज्यापु दिवस समारोहका संयोजक नरः कोताः त्वाःका अध्यक्ष कृष्णबहादुर डंगोललाई प्रमाणपत्र प्रदान गरिएको थियो।

     

    त्यस अवसरमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले कोषका तर्फबाट रु. २ लाखको चेकसमेत हस्तान्तरण गर्नुभएको थियो।

     

    कार्यक्रममा २३औँ राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०८३ का संयोजक आशामान संगत र २०८२ का संयोजक कृष्णबहादुर डंगोलले शुभकामना मन्तव्य राख्दै ज्यापु संस्कृति, सम्पदा र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

     

    उहाँहरूले ज्यापु समुदायको पहिचानसँग जोडिएका संस्कृति, गुठी परम्परा, बाजा र सम्पदाको संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

     

    गुरुहरूको सम्मान, सांस्कृतिक परम्पराको संरक्षण र आगामी ज्यापु दिवस समारोहको तयारीसँगै कार्यक्रमले ज्यापु समुदायको मौलिक संस्कृति जोगाउने अभियानलाई थप ऊर्जा दिएको आयोजकले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै