• TOKHA LIVE

      TOKHA LIVE

    • ३ श्रावण २०८३, आईतवार ०५:०५

    नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन तथा पाँचौँ जिल्ला महाधिवेशन सम्पन्न

     

    काठमाडौं, साउन २ । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन तथा पाँचौँ जिल्ला महाधिवेशन शनिबार बालाजु औद्योगिक क्षेत्रस्थित आन्तरिक राजस्व कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा भएको हो।
    महाधिवेशनले रत्नकाजी महर्जन ‘मन’ को अध्यक्षतामा नयाँ काठमाडौं जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। साथै केन्द्रीय पार्षद, बागमती प्रदेश पार्षद, कीर्तिपुर नगर समिति तथा टोखा नगर समितिको समेत चयन गरिएको छ। महाधिवेशनको उद्घाटन नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ ले मतदान प्रक्रियाको शुभारम्भ गर्दै गर्नुभएको थियो।
    समन्वय समितिका संयोजक राजु नापित को सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा दबूकी उपाध्यक्ष सुनिता महर्जन ले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रजित शाक्य ले गर्नुभएको थियो। कार्यक्रममा महासचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, उपाध्यक्ष सुनिल महर्जन लगायतका पदाधिकारी तथा केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
    उद्घाटन सत्रपछि बन्दसत्र सुरु भएको थियो। निर्वाचन समितिका संयोजक सुरजवीर बज्राचार्य तथा सदस्य केके मानन्धर र सुनिल महर्जन ले निर्वाचन प्रक्रिया सञ्चालन गर्नुभएको थियो। बन्दसत्रमा पत्रकारहरू नीलः सायमि, उदेन न्ह्यू सायमि, रश्मी नापित लगायतले आ–आफ्ना धारणा राखेका थिए।
    बन्दसत्रमा केन्द्रीय समिति र काठमाडौं जिल्लाका सदस्यहरूबीच छलफल गरी देखिएका समस्याको समाधान गर्ने सहमति भएको थियो। त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। उम्मेदवारी दर्तापछि आवश्यक प्रक्रियाहरू पूरा गरी अन्तिम निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक गरिएको थियो।

    नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखामा नयाँ नेतृत्व चयन

    नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको अधिवेशन तथा महाधिवेशनबाट रत्नकाजी महर्जनको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विरेन्द्र शाक्य, महिला उपाध्यक्षमा विमला मानन्धर, सचिवमा राजेन्द्र मानन्धर, सहसचिवमा सुविन्द्र श्रेष्ठ, महिला सहसचिवमा तुलसी केशरी प्रजापति तथा कोषाध्यक्षमा प्रशान्त डंगोल निर्वाचित हुनुभएको छ। सदस्यहरूमा कृष्णमान श्रेष्ठ, रश्मी नापित, सलिना शाक्य, रविन्द्र बज्राचार्य, नहकुल महर्जन, अस्मिता श्रेष्ठ, सागर राजलवत र किचः सिंह चयन हुनुभएको छ।

    महाधिवेशनले केन्द्रीय सभासदमा गंगादेवी महर्जन, प्रेमकुमार श्रेष्ठ, सुगतरत्न सिन्दुराकार, प्रवीणकुमार महर्जन, मनोज श्रेष्ठ ‘सार्थक’, जुजुमान महर्जन, दिलिप शाही, सुगम ताम्राकार र राजेन्द्रकुमार महर्जन ‘पुता’लाई निर्वाचित गरेको छ।

    त्यसैगरी, बागमती प्रदेश सभासदमा विराजकाजी राजोपाध्याय, रविन महर्जन, सुरज मानन्धर, उमेश मानन्धर, मदनराम कर्माचार्य र कुसुम बज्राचार्य निर्वाचित हुनुभएको छ।

    महाधिवेशनले नगर उपशाखाहरूको नेतृत्वसमेत चयन गरेको छ। टोखा नगर उपशाखाको संयोजकमा सानुराज डंगोल, सचिवमा नविना श्रेष्ठ तथा सदस्यमा हिक्मत डंगोल चयन हुनुभएको छ। त्यसैगरी, कीर्तिपुर नगर उपशाखाको संयोजकमा प्रताप महर्जन, सचिवमा ललेन्द्र शाक्य तथा तीन सदस्यीय उपशाखा समिति पनि गठन गरिएको छ।

    नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूले नेवा समुदायको पत्रकारिता, भाषा, संस्कृति र सञ्चार क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै