काठमाडौं असार ३०। नेपाल आयल निगमले भोलि (बुधवार)देखि पुनः १४.२ किलोग्राम तौल भएका पूरा भरिएका एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ।
मध्यपूर्वमा उत्पन्न तनावका कारण एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि निगमले गत २०८२ फागुन २९ गतेदेखि माग व्यवस्थापनका लागि ७.१ किलोग्राम तौल भएका आधा भरिएका ग्यास सिलिन्डर मात्र वितरण गर्दै आएको थियो।
निगमका अनुसार हाल बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङको अवस्थामा सुधार आएको र उपभोक्ताको उच्च मागलाई ध्यानमा राख्दै पुनः पूरा भरिएका सिलिन्डर वितरण गर्ने निर्णय गरिएको हो।
पूरा भरिएको १४.२ किलोग्राम एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २,०६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
यद्यपि, केही समयसम्म आधा भरिएका सिलिन्डर पनि बजारमा उपलब्ध रहने भएकाले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।
निगमले हाल एलपी ग्यासको आपूर्ति नियमित रहेको उल्लेख गर्दै अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।

