• TOKHA LIVE

      TOKHA LIVE

    • १ असार २०८३, सोमबार २१:४४

    अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

     

    लुम्बिनी, १ असार । विश्व शान्ति, करुणा र मैत्रीको सन्देश बोकेर विभिन्न देशमा ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहेका भियतनामी भिक्षु पन्याकर भिक्षु नेतृत्वको टोली बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ।

     

    उक्त टोलीमा ‘अलोका’ नामक कुकुर पनि सहभागी रहेको छ, जसले लामो समयदेखि भिक्षु पन्याकरको पदयात्रामा साथ दिँदै आएको हो।

     

    १८ सदस्यीय टोली लुम्बिनीमा

     

    भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु तथा उपासक–उपासिकाको टोली लुम्बिनी आएको हो। टोलीले आइतबार साँझ लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो।

     

    मायादेवी मन्दिर पुगेर टोलीले पूजा–प्रार्थना समेत गरेको थियो।

     

    टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई ले स्वागत गरेका थिए।

     

    बुद्ध शिक्षाको प्रचार गर्दै यात्रा

     

    पदयात्राका क्रममा भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन, ध्यान, करुणा, दया र सद्भावको शिक्षा दिँदै अघि बढिरहेका छन्। विभिन्न स्थानमा ध्यान अभ्यास समेत गराइँदै आएको छ।

     

    मायादेवी मन्दिरमा आयोजित कार्यक्रममा भिक्षु पन्याकरले बुद्धले देखाएको निर्वाण र शान्तिको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

     

    उनले विश्व शान्तिका लागि व्यक्तिगत सङ्कल्प र नैतिक अनुशासन अत्यावश्यक रहेको उल्लेख गर्दै आफूहरूको अभियान पनि त्यही उद्देश्यमा आधारित रहेको बताए।

     

    ‘अलोका’ कुकुर पनि शान्तिको प्रतीक

     

    भिक्षु पन्याकरले आफ्नो यात्रासँगै रहेको कुकुर ‘अलोका’लाई “शान्तिको दूत” को रूपमा व्याख्या गरे। उनका अनुसार अलोका लामो समयदेखि यात्रामा साथ दिँदै आएको र करुणा तथा सहअस्तित्वको प्रतीक बनेको हो।

     

    यात्राको अन्तर्राष्ट्रिय विस्तार

     

    जानकारी अनुसार, सन् २०२२ मा भारतको कोलकाताबाट सुरु भएको यात्राको क्रममा उक्त कुकुर टोलीसँग जोडिएको थियो। पछि यात्रालाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने क्रममा यसलाई ‘अलोका’ नाम दिइएको हो।

     

    लुम्बिनीको शान्ति पर्यटनमा योगदान

     

    कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले यस पदयात्राले लुम्बिनीको शान्ति पर्यटनलाई थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

     

    टोली सोमबार काठमाडौं प्रस्थान गरी बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहारको अवलोकन गर्ने तथा साँझ राष्ट्रपति रामचन्द्र पौडेल सँग भेट गर्ने कार्यक्रम रहेको छ।

     

    विश्व शान्तिको सन्देश बोकेर आएको यो टोलीको लुम्बिनी यात्रा अहिले स्थानीय र अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनेको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै